२०८१ कार्तिक २, शुक्रवार , ०८:१०:२९ बजे

Sajhamanch
'

मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको विवादमा गोली प्रहार

बिहिवार, असार २१, २०८०

जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलले कुकुरलाई ठक्कर दिएको विषयमा विवाद बढ्दै गएपछि मंगलबार साँझ गोली प्रहार भएको खुलेको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–१ बसविट्टी बस्ने ४४ वर्षीय श्रवण यादवमाथि सोही वडाको लक्ष्मीपुर टोलका बासुदेव मण्डलले गोली प्रहार गरेका थिए । यादवको चिउँडो र दाहिने कुममा गोली लागेको थियो ।

गम्भीर घाइते यादवको उपचार जनकपुर स्थित जानकी हेल्थकेयरमा भइरहेको प्रहरीले जनाएको छ । मण्डललाई तत्कालै प्रहरीले तीनवटा गोलीको खोका र पेस्तोलसहित पक्राउ गरेको थियो ।

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीप गिरीका अनुसार मंगलबार साँझ अन्दाजी ५ बजेर ४५ मिनेटमा मण्डल चलाइरहेको बा।२८ प ९८८ नम्बरको मोटरसाइकलको अगाडिको चक्काले यादवको कुकुरलाई ठक्कर दिएको थियो । सो विषयमा दुबैबीच विवाद हुँदा यादवले मण्डलमाथि हातपात गरेका थिए ।

आवेशमा आएका मण्डल पुनः घर पुगेर पेस्तोल ल्याई गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी गिरीले बताए । मण्डललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीले प्रहरीलाई अनुमति दिएको छ ।

सम्बन्धित खबर