काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन्।
राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो।
प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए।
त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टिकरण नभई राजीनामानै आफ्नो पार्टीलाई चाहिएको बताए।
उनले भने, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नु भएन। नराम्रो गर्दैगर्दै आएर अव राष्ट्रिय स्वाभिमान, स्वाधिनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनु भयो, जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ। कसले स्पष्टिकरण दिनु भन्यो, कहाँ ? हामीलाई स्पष्टिकरण होइन् राजीनामा चाहिएको छ।’
त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले केही पनि राम्रो काम नगरेको जिकीर समेत गरे।