२०८१ फागुन २१, बुधवार , ११:१४:४३ बजे

Sajhamanch
'

भारतले जित्यो साफ च्याम्पियनसिपको उपाधि, कुवेत सडन डेथमा स्तब्ध

बुधवार, असार २०, २०८०

काठमाडौं । सडन डेथमा कुवेतलाई ५–४ ले हराउँदै साविक विजेतासमेत रहेको भारतले साफ च्याम्पियनसिप–२०२३ को उपाधि जितेको छ । भारतले नवौँ पटक च्याम्पियनसिपको उपाधि जितेको हो ।

भारतको बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा जारी खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा कुवेतका मोहम्म्द अब्दुल्लाहको प्रहार बारमा लागेर बाहिरिएको थियो । यस्तै, खालेद हाजियाको प्रहार भारतका गोलकिपर गुरप्रीत सिंहले बचाए । यता, भारतका उदान्त सिंहको प्रहार बाहिरियो । उदान्तको प्रहार बाहिरिदा खेल सडन डेथमा पुगेको थियो ।

खेलको १५औँ मिनेटमा सबाईब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा लालियन्जुएला चान्टेले गोल गरेपछि भारत खेलमा फर्किएको थियो ।

प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको भारतले सेमिफाइनलमा लेबनानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले लेबनानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

यता, कुवेतले भने बंगलादेशलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।