२०८१ पौष १०, बुधवार , ०१:५२:४० बजे

Sajhamanch
'

हेटौंडाबाट १९० किलो गाँजासहित १२ जना पक्राउ

मङ्गलवार, असार १९, २०८०

मकवानपुर । करिब दुई क्विन्टल अवैध लागू औषध गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ परेका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट दुई वटा सवारीबाट १९० किलो गाँजासहित १२ जना पक्राउ परेका हुन्।

बागमती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कारबाट ४७ किलो गाँजासहित ४ जना पक्राउ परेका छन्। कारको डिक्कीमा लुकाएर ल्याएको ४७ किलो गाँजासहित कार चालक वीरगन्ज महानगरपालिका १४ का ४२ वर्षीय कन्हैयालाल महतो तथा कारमा रहेका वीरगन्ज १८ का २० वर्षीया दुसमेना खातुन, सोही स्थानकै २१ की पुजाकुमारी मण्डल र पर्साको पटेर्वा सुगौली गाउँपालिका ४ का २५ वर्षका विनय चौधरी पक्राउ परेका हुन्।

उनीहरुको गाडी स्कर्टिङ तथा प्रहरीको सुराकी गर्न प्रयोग भएको मोटरसाइकलसहित थप दुई जनालाई पनि प्रहरीले पक्रेको छ। प्रहरीले प्रदेश २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकल सहित थप दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वीरगन्ज १४ का २६ वर्षीय विनोद मण्डल र सोही स्थानका ३९ वर्षका विनोद पासवान रहेका छन्।

‘कार र मोटरसाइकलको बीचमा ‘कनेक्सन’ रहेको पाइएको छ। मोटरसाइकल प्रहरीको सुराकी र स्कर्टिङमा प्रयोग भएको पाइएको छ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले भने।

यस्तै प्रहरीले रातोमाटेबाटै डिएल १ जिसी ३०३५ नम्बरको इन्डियन ट्रकबाट १४ वटा पोकामा रहेको १४३ किलो गाँजासहित चालकलाई पक्रेको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी गोविन्द बारा बस्ने ६५ वर्षका लालबहादुर सहनी रहेका छन्। सहनीले गाँजा लोड गर्न लगाउनेहरु स्कारपियोमा आउँदैछ भन्ने जानकारी दिएपछि प्रहरीले अरू थप ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डिएल १२ सिए ०५७८ नम्बरको स्करपियो चालक वीरगन्ज १३ का २५ वर्षीय सन्तोष गुप्ता, बाराको विश्रामपुर गाउँपालिका ४ का २४ वर्षका सुरज साह, सोही स्थानकै २१ वर्षका गौतमकुमार साह, पर्साको छिपहरमाई गाउँपालिका ३ का ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षका रमेश यादव रहेका छन्।

‘इन्डियन ट्रक र स्करपियोको छुट्टै कनेक्सन भएको पाइएको छ। गाँजा लोड भएको गाडीको पछिपछि आइरहेको अवस्थामा हामीले स्कारपियोसहित थप ५ जनालाई पक्रेका हौं’, प्रहरी उपरीक्षक गौतमतले भने, ‘मकवानपुरको मनहरी आसपासबाट गाँजा लोड गरेर ल्याएको जानकारीमा आएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेका छौं।’

मकवानपुरको मनहरी, राक्सिराङ, कैलाश तथा हेटौंडा उपमहानगर क्षेत्रमा लागू औषधको बिगबिगी रहेको छ। यस क्षेत्रमा गाँजा तथा नाइट्राभेट लगायतका लागू औषध ओसारपसार र प्रयोग व्यापक भइरहेको सर्वसाधारणको गुनासो रहेको छ।

सम्बन्धित खबर