२०८१ माघ २८, सोमवार , ०७:४८:३२ बजे

Sajhamanch
'

गोलभेडा उत्पादन दोब्बर बढ्यो , भारतको मूल्य वृद्धिको प्रभाव छैन

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । छिमेकीमुलुक भारत र पाकिस्तानमा गोलभेडा महँगिएको छ।

भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेडाको मूल्य दोब्बरले बढेर पाकिस्तानी एक सय रूपैयाँसम्म पुगेको छ।

सामान्यतया यहाँ खपत हुने मध्ये ५० प्रतिशत बराबर गोलभेडा भारतबाटै आयात हुन्छ।

छिमेकीमुलुकमा गोलभेडाको मूल्य अत्यधिक महँगो छ। कतिपयलाई भारतमा महँगो भएपछि त्यसको प्रभाव यहाँ पनि पर्न सक्छ भन्ने लाग्न सक्छ।

तर यहाँ भारतीय गोलभेडाको मूल्यको केही प्रभाव नपर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विजय श्रेष्ठले बताए।

उनका अनुसार हाल भारतबाट सानो गोलभेडा आएको छैन। यहीँ उत्पादन छ, उनले भने, त्यहाँ बढेको मूल्यले हामीलाई केही फरक पार्दैन ।

नेपालीहरूले सामान्यतया घरायसी प्रयोजनका लागि सानो गोलभेडाको प्रयोग गर्छन्। लगभग ९० प्रतिशत उपभोग यस्ता सानो गोलभेडाको हुन्छ।

ठूलो गोलभेडा भने होटल तथा रेष्टुरेन्टमा सलादको रूपमा प्रयोग हुन्छ।

अहिले गोलभेडा उत्पादनको मौसम होइन। वर्षातको सिजनमा खुला ठाउँमा गोलभेडा उत्पादन हुँदैन। टनेलको गोलभेडामा भर पर्नुपर्छ।

त्यहीँ भएर विगतमा यो समयमा गोलभेडाको मूल्य पनि महँगो हुन्थ्यो। तर अहिले गोलभेडाको उत्पादन बढी भएकाले बजार नपाएको एसएन कृषि फार्मका सञ्चालक रेशम आचार्यले बताए।

पहिले टनेल खेती कम हुन्थ्यो, उनले भने, अहिले धेरैले गर्छन्।

उनका अनुसार हाल बजारमा टनेलको गोलभेडा प्रतिकिलो २७ देखि २८ रूपैयाँ किसानले पाइरहेका छन्। भने उपभोक्ताका लागि प्रतिकिलो ४० देखि ५० रूपैयाँमा बिक्री भइरहेको छ।

विगतमा यो समयमा गोलभेडाको उपभोक्ता मूल्य प्रतिकिलो एक सय रूपैयाँ हाराहारी हुन्थ्यो।

विगतका वर्षहरूमा यो समयमा गोलभेडाको मूल्यले भाउ पाएको देखेर उत्पादन बढाउँदा यो वर्ष फाल्न पर्ने स्थिति आएको उनी बताउँछन्।

पहिले धेरै मूल्य पाइरहेका थिए। अहिले उत्पादन बढाउँदा मूल्य घट्यो, उनले भने, छिमेकी मुलुकमा महँगो छ। तर हाम्रो उत्पादन उता जाँदैन।

कालिमाटी बजारको तथ्यांक हेर्दा पनि यो वर्ष दोब्बर गोलभेडा उत्पादन भएको पुष्टि हुन्छ।

गत वर्षको असार ११ गतेदेखि १७ गतेसम्म एक साताको तथ्यांक हेर्दा दैनिक न्यूनतम २५ लाख किलोदेखि ३३ लाख किलोसम्म सानो गोलभेडा भित्रिएको थियो।

यो वर्षको सोही अवधिमा भने दैनिक न्यूनतम ६५ लाख किलोदेखि ७७ लाख किलोसम्म सानो गोलभेडा भित्रिएको छ।

बजारमा ठूलो गोलभेडा भने आन्तरिक र भारतीय दुवै छन्। तर केही दिनयता ठूलो गोलभेडा पनि भारतबाट नआएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी श्रेष्ठ बताउँछन्।

तथ्यांक हेर्दा सानो गोलभेडा त एक डेढ महिना देखिनै आएको छैन,उनले भने, ठूलो गोलभेडा पनि तीनरचार दिनदेखि आएको देखिदैन।

उनका अनुसार हाल कालिमाटीमा काठमाडौं उपत्यकालगायत छिमेकी जिल्लाबाट गोलभेडा आइरहेको छ। मौसमको समयमा भने काठमाडौं बाहिरका जिल्लाबाट पनि कालिमाटीमा गोलभेडा भित्रिने गरेको छ।

सम्बन्धित खबर