२०८१ पौष १४, आइतवार , ०७:१७:५४ बजे

Sajhamanch
'

वामपन्थी दाहालको धार्मिक अवतार

बुधवार, असार ६, २०८०

काठमाडौँ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ तेस्रो साता भारतको उत्तरप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गर्दा कम्युनिस्ट खेमाबाट चर्को आलोचना भयो । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अँगालेर पनि धर्मकर्ममा आशक्त बनेको भन्दै उनकै टीकाटिप्पणी चल्यो । भ्रमण सकेर त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै दाहालले ‘मैले गेरुवस्त्र लगाउँदिन भनेको भए एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो’ भनेर स्पष्टीकरण दिए ।


कतिपयले आफ्नै मुलुकको पशुपतिनाथमा नगएर दाहालले हिन्दुत्वको राजनीति गरिरहेको भारतको सत्तारूढ भारतीय जनता पार्टीलाई खुसी बनाउन अहिले महाकालेश्वर मन्दिरमा पूजा गरेको भनेरसमेत टिप्पणी गरेका थिए । त्यस्ता टिप्पणीरप्रश्नलाई ‘मत्थर पार्न’ भ्रमणबाट फर्केको एक सातामै दाहालले पशुपतिनाथ मन्दिरको दर्शन गरे । अनि पशुपतिनाथको दर्शन र अवलोकनले आफू प्रसन्न भएको बताए । दाहाल पहिलो पटक प्रधानमन्त्री भएका बेला २०६५ मा पशुपतिनाथको मूल पुजारीमा नेपाली नियुक्ति गरेपछि विवाद उत्पन्न भएको थियो । उक्त नियुक्तिले धार्मिक आस्था खल्बल्याएको गुनासोसमेत आएको थियो । पछि उक्त निर्णय उल्टिएको थियो ।

दाहाल ‘धार्मिक पथ’ तिर लम्किएको विश्लेषण भइरहेका बेला उनले बुधबार आफ्नो वंश उत्पत्ति भएको दैलेखको दुल्लु–१० मा कुल शिरोमणि दासुको सालिक अनावरण गरे । त्यहाँ उनले आफू सानो छँदा दाहाल बन्धुको पुर्खा दैलेखबाट आएको सुन्दा कौतूहल लागेको र अहिले त्यही थलो आइपुग्दा गर्व लागेको बताए ।

धर्मकर्ममा पछिल्लो समय देखिएको लगावका विषयमा माओवादीभित्रै प्रश्न उठे पनि त्यसलाई प्रधानमन्त्री दाहालले महत्त्व दिएका छैनन् । आफू अहिले प्रधानमन्त्री रहेकाले सबैलाई समेटेरै जानुपर्ने अवस्था रहेको उनको भनाइ छ । दाहालले उज्जैनमा गेरुवस्त्र लगाउनुलाई सांस्कृतिक कूटनीतिको एउटा रूपमा व्याख्या गरेका छन् ।

भारतको सत्तारूढ दल भाजपाले हिन्दुत्वको राजनीति गरिरहेको सन्दर्भमा प्रधानमन्त्री दाहालले सांस्कृतिक कूटनीति भन्नुको गहिरो अर्थ रहेको विश्लेषकहरूको बुझाइ छ । २०५२ बाट दस वर्ष सशस्त्र विद्रोह गर्दा माओवादी कट्टर नास्तिक थिए । उनीहरू आफ्नो प्रभाव क्षेत्रमा धार्मिक गतिविधिलाई निषेधसमेत गर्थे । सर्वसाधारणले प्रतिकार गर्न थालेपछि माओवादीले धार्मिक गतिविधिमा रोक हटाएका थिए । शान्ति प्रक्रियामा आएपछि माओवादी बिस्तारै धार्मिक आस्थाप्रति खुकुलो हुँदै आयो । संविधान निर्माणका बेला माओवादीले अडान राखेकै कारण मुलुक धर्मनिरेपक्ष भएको छ । आफूले रोजेको धर्म मान्ने छुट जसलाई पनि छ । राप्रपाबाहेक अरू दलले कुनै धर्म विशेषको मुद्दा लिएर राजनीति गरेका छैनन् ।


माओवादीले सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको बेला २०५७ माघमा मार्क्सवाद, लेनिनवाद, माओवादी र प्रचण्डपथ पथप्रदर्शक सिद्धान्तका रूपमा अघि सारेको थियो । अहिले दाहाल आफैं प्रचण्डपथ भुलेर धार्मिक पथमा लागेको आरोप लाग्न थालेको छ । माओवादीको सिद्धान्त र विधानले भने धर्मको राजनीतिलाई निषेध गर्छ ।

‘समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत सामन्तवादका अवशेषहरूको अन्त्य एवम् जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरिनेछ,’ विधानको प्रस्तावनामा उल्लेख छ, ‘१० वर्षको महान् जनयुद्ध, विभिन्न समयमा चलेका सशस्त्र आन्दोलन, ऐतिहासिक संयुक्त जनआन्दोलन एवम् मधेशी, आदिवासी जनजातिलगायत सबै प्रकारका उत्पीडित वर्ग र समुदायद्वारा सञ्चालित आन्दोलनहरूको परिणामस्वरूप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण एवम् सामाजिक न्यायलगायत उपलब्धि रक्षा गर्दै उत्पीडित वर्ग र जनसमुदायका अधिकार प्राप्तिका लागि पार्टी निरन्तर संघर्षरत रहनेछ ।’

हरेक निर्वाचनमा पार्टीका मत घट्दै गइरहेको सन्दर्भमा दाहालले कट्टर धार्मिक समुदायको मतलाई ध्यान दिएर धर्मकर्ममा लागेको अनुमान पनि गरिएको छ । एक विश्लेषकका अनुसार माओवादीले विगतमा उठाएका ‘क्रान्तिकारी’ मुद्दाले आम मतदाताको मन जित्न मुस्किल हुने बुझाइ हुन सक्छ । केही जिल्लामा राम्रो पक्कड रहे पनि संघ, प्रदेश र स्थानीय निर्वाचनमा माओवादीले बनाएको समग्र हैसियत अरू दलसँग तालमेलकै कारण सम्भव भएको हो । त्यसैले दाहाल विगतको ‘नास्तिक’ राजनीतिलाई रूपान्तरण गर्ने प्रक्रियामा छन् । भारतीय जनता पार्टीसँग सम्बन्ध विस्तार गर्ने उनको नीति पनि देखिन्छ ।

माओवादी सरकारमा सहभागी भएपछि भने पार्टी सिद्धान्त, नीति र विधि, विधानमा उल्लेख भएका विषय ओझेलमा पर्ने माओवादी नेता लेखनाथ न्यौपानेको भनाइ छ । ‘प्रचण्ड ९दाहाल० ले हामीलाई राजनीति वर्गीय हुन्छ भनेर पढाउनुभएको हो । वर्गीय राजनीतिमा धार्मिक गतिविधि गर्ने झन् पढाउने कुरै भएन,’ उनले भने, ‘पार्टीले सरकारको नेतृत्व गरेपछि वर्गीय राजनीति कतै देखिँदैन । बरु धूमिल हुँदै गएको छ ।’

उनको बुझाइमा कम्युनिस्ट पार्टीले आफ्नो वर्ग भुल्नु भनेको बाटो बिराउनु हो । ‘माओवादीले जित्दा निम्न मध्यम वर्ग खुसी हुनुपर्छ । खुसी हुनुको कारण हो आफ्नो वर्गको हित हुन्छ भनेर हो,’ उनले थपे, ‘माओवादीले सरकारको नेतृत्व गरेको छ तर हाल कुन वर्ग खुसी छ रु कुरा स्पष्ट छ ।’ प्रधानमन्त्रीका रूपमा धार्मिक पूजाआजामा सहभागी भए पनि दाहाल माओवादी अध्यक्ष रहेको उनको भनाइ छ । ‘धर्मको सम्मान गर्नु एउटा कुरा हो, त्यसलाई मानेर, लागू गरेर जानु कम्युनिस्टका लागि अनौठो कुरा हो,’ न्यौपानेले भने ।

माओवादीको मूल नेतृत्वले आफ्नो वर्गलाई विश्वासमा लिन नसक्दा पहिचान संकटमा पर्दै गएको माओवादी नेता न्यौपानेको बुझाइ छ । ‘हाम्रो आधारभूत वर्ग भासिँदै तल पर्दै गएको छ,’ उनले थपे, ‘बरु हाम्रा नेताको वर्ग उत्थान भएको छ ।’ उनका अनुसार माओवादीको वर्ग राजनीति ‘लिपपोत’ का भरमा चले पनि नेताहरूले स्वीकार गर्न सकेका छैनन् ।

माओवादीको सशस्त्र द्वन्द्वको जस्तो कठोर राजनीतिक सिद्धान्त रूपान्तरण हुनु स्वाभाविक भए पनि उसले आफ्नो आधारभूत वर्गलाई ध्यान नदिएको राजनीतिकशास्त्रका प्राध्यापक गेहन्द्रलाल मल्लले बताए । ‘माओवादी जुन वर्गका लागि लडेको थियो, त्यो वर्ग उत्थानमा माओवादीले नेतृत्व गरेको सरकारले विशेष नीति लिएको देखिँदैन,’ उनले भने, ‘सिद्धान्त नमिल्ने दलसँग सत्ता गठबन्धन गरेपछि सबैलाई रिझाउने नीति तथा कार्यक्रम ल्याएको छ । निम्न वर्गको हित हुने कार्यक्रम छैन ।’

उनले माओवादीले ‘सहमति र सम्झौता’ को नीति लिइसकेको बताए । उज्जैनस्थित महाकालेश्वर दर्शनका सन्दभमा भने मल्लले भारत सरकारबाट तय भएका धार्मिक कार्यक्रमलाई बेवास्ता गर्न अप्ठ्यारो भएको हुन सक्ने बताए । ‘मित्र राष्ट्रले निर्धारण गरेको धार्मिक कार्यक्रममा सहभागी हुन्न भन्नु अप्ठ्यारो परेको हुनुपर्छ,’ उनले भने, ‘यो कूटनीतिकै एउटा अंग बन्न पुग्यो ।’

माओवादी केन्द्रबाट २०६९ असारमा अलग भई गठन भएको क्रान्तिकारी माओवादी पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले प्रधानमन्त्री दाहालको ‘रूप’ फरक–फरक भएको टिप्पणी गरे । ‘उहाँ ९दाहाल० परिस्थितिअनुसार रूपधारण गर्नुहुन्छ । पछिल्लो समय गेरुवस्त्र धारण यसकै एउटा उदाहरण हो,’ उनले भने, ‘अब माओवादीको रूप र सारमा खासै फरक छैन । रूप जे देखिन्छ, सार पनि त्यही हो ।’ दाहालको धार्मिक रूपान्तरण नरेन्द्र मोदीको सफलता भएको उनले बताए ।

हुन त दाहालले आफूलाई ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्न सक्ने नेता ठान्छन् । एमालेसँग गठबन्धन भएको एक महिनामै कांग्रेससित सत्ता सहयात्रा थाल्नु त्यसको पछिल्लो उदाहरण हो । उनले मार्क्सवाद सीधा अघि नबढ्ने बताउँदै आएका छन् । ‘मार्क्सवाद दायाँबायाँ हुँदै अघि बढ्छ,’ उनले बेलाबेला भन्दै आएका छन् । १० वर्षे सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माणदेखि हालसम्मका उतारचढावपूर्ण परिस्थिति सामना गरिसकेका दाहाल आफ्नो उद्देश्यमा प्रस्ट भएको दाबी गर्छन् ।

भारतीय मन्दिरमा गेरुवस्त्र लगाएको सन्दर्भमा आएका आलोचनालाई पनि उनले सहजै पचाइदिएको देखिन्छ । उनी भन्छन्, ‘एकथरी साथीहरूलाई के विचित्र देखियो भन्ने परेको छ । गेरुवस्त्र लगाएर कमन्डलु लिएर हिँडिदिए हुन्थ्यो भन्नेछ । म हिँड्नेवाला होइन ।’

सम्बन्धित खबर