काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणको पदीय हैसियतमाथि नैतिक प्रश्न उठेको छ । अभियोग लाग्दाकै बखत गत वैशाख अन्तिम साता उनलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठे पनि कांग्रेस मौन बसेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । एमाले सचिव रायमाझीलाई भने पार्टीले वैशाखमै पदबाट निलम्बन गरिसकेको छ ।
खाण पक्राउ परेपछि वैशाख २७ र २८ मा बसेको कांग्रेस पदाधिकारी बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अनुसन्धानमा सहयोग पुर्याउन र पार्टीको छवि जोगाउन खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए । एमालेले अभियोग लागेकै कारण रायमाझीलाई पदबाट निलम्बन गरिसकेको अवस्थामा कांग्रेसले जोगाउन नहुने उनीहरूको तर्क थियो तर सभापति शेरबहादुर देउवाले नचाहँदा उनी निलम्बनमा परेनन् । ‘अब त अदालतको आदेशबाट उहाँ जेलमै पुगिसक्नुभएको छ, एउटा व्यक्तिमात्र नभई केन्द्रीय सदस्य पद जेल परेको छ,’ एक पदाधिकारीले भने, ‘भोलि अदालतबाट सफाइ पाएको अवस्थामा स्वतः पदमा फर्कने गरी निलम्बित गर्नुपर्ने हो, तर नेतृत्वले नचाहँदा पार्टीको छबिमाथि नै दाग लागेको छ ।’
अहिले सभापति देउवा उपचारको सिलसिलामा सिंगापुरमा छन् । देउवाले निकटस्थसँग ‘खाण धरौटीमा रिहा हुन्छन्’ भन्ने गरेका थिए । वैशाखमा पार्टीभित्र खाणलाई निलम्बन गर्ने आवाज चर्को बन्दासमेत उनले धरौटीमा रिहा हुने सम्भावना औंल्याउँदै टारेका थिए । ‘अब त खाण जेलमै परेपछि केन्द्रीय सदस्य हुनु र नहुनुको अर्थ पनि रहेन, त्यसैले निलम्बनको निर्णय गर्दा केही सहज होला,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘तर सभापति स्वदेश नफर्किएसम्म यसमा निर्णय हुँदैन ।’
नैतिक पतन देखिने फौजदारी अभियोगमा पक्राउ परेमा वा जेल परेमा केन्द्रीय सदस्य वा पदाधिकारीको पद के हुने भन्नेमा कांग्रेस विधान मौन छ । विधानको धारा १३ मा भने पार्टी सदस्यता नरहने अवस्थाबारे उल्लेख छ । ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टी सदस्य नरहने’ धारा १३ (ङ) मा लेखिएको छ । कांग्रेसनिकट एक कानुन व्यवसायीले मुद्दा विचाराधीन रहेको अवस्थामा के हुने भन्ने उल्लेख नभए पनि फौजदारी अभियोगमा मुद्दा लागेर जेल पुगिसकेको अवस्थामा पार्टीले स्वतः निलम्बन गर्नुपर्ने बताए । ‘पहिलो कुरा त अनुसन्धानका लागि पक्राउ पर्नेबित्तिकै निलम्बन गर्नुपर्ने थियो, अब त जेल नै गइसकेको अवस्था छ,’ ती कानुन व्यवसायीले भने, ‘कांग्रेस जति मौन बस्छ, नैतिकताको प्रश्न पनि उत्तिकै पेचिलो भएर उठ्नेछ ।’