काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले दक्षिण छिमेकी भारतबाट बेला–बेला आइरहेका विवादास्पद घटनाहरूले नेपालीको स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरिरहेको बताएका छन्। उनले सरकारका सरोकारवाला निकाय परराष्ट्र र सञ्चार मन्त्रालयले यस विषयलाई गम्भीर रूपमा लिन माग गरेका छन्।
सांसद शाहले शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भने, ‘चलचित्र आदिपुरुषको कुरा मात्र होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनिएको छ, कहिले सिता उताको भनिएको छ। कहिले कहिले कालापानी–लिम्पियाधुरा हाम्रो भनेको छ, कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ। हाम्रो इतिहास माथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ की यसले हाम्रो चित्त दुख्छ भनेर। हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर। सरकारले सास दबाएर बसेपछि कोही न कोहीले कुनै न कुनै बेला बोल्नुपर्थ्यो बालेनले बोले सही गरे।’
उनले भारतीय चलचित्र आदिपुरुषमा सिता भारतको भन्ने संवादले विवाद सिर्जना गरेको र त्यसको विरोधमा काठमाडौँका मेयर बालेन शाहले दिएको प्रतिक्रिया जायज भएको पनि बताए।
‘चलचित्र आदिपुरुषको सिताको भारतको भन्ने संवादले जुन विवाद भयो। त्यसमा भारतीय निर्माण पक्षले विवादित संवाद काटेर पनि पठायो र सेन्सर पास पनि भयो प्रदर्शनका लागि नेपालमा। तर काठमाडौँका मेयर बालेन शाहले भारतमा पनि उक्त संवाद नहटाइएसम्म कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएपछि अन्योल छाएको छ। क्यूएफएक्सलगायत सबै हलहरूले सरकारबाट स्पष्टीकरण नआएसम्म चलचित्र प्रदर्शन रोकेर बसेका छन्’, सांसद शाहले भने।
उनले परराष्ट्र मन्त्री र सञ्चार मन्त्रीले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरू भावनात्मक नै किन नहुन सरकारले सम्बोधन नगरेपछि विभिन्न निकायबाट र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वभाविक हो’, सांसद शाहले भने।
आदिपुरुषको ट्रेलरमा सीतालाई इन्डीआकी छोरी भनिएको छ। रामायण अनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान राम आएर उनीसँग विवाह गरेका हुन।