२०८१ कार्तिक १, बिहिवार , ०८:०८:३१ बजे

Sajhamanch
'

रतुवामाई नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणमा एमालेले सहयोग र समन्वय गर्दै

बुधवार, जेठ ३१, २०८०

रतुवामाई (मोरङ) । नेकपा एमाले, रतुवामाई नगरपालिका कमिटीले आज नगरको सौंठास्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ ।

सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौंमध्ये आफ्नो तर्फबाट नगरबासीको अपेक्षासहितको रायसुझाव राख्ने १९ जनाको प्रस्तुति सुनेपछि सो संयन्त्र बनाइएको हो ।

नगरमा उपलब्ध पार्टी प्रतिनिधि, बहुमत जनप्रतिनिधि र सरोकारवाल माझ गठित संयन्त्रमा राजनीतिक एवम् सामाजिक अभियन्ताहरू मेघराज शर्मा कट्टेल, हरिकुमार राई, नारायण ताजपुरिया, देवेन्द्र पौडेल, कृष्ण ढकाल, हेम कार्की र नगर प्रमुख दमयन्ता चुडाल रहेका छन् ।

नगर कमिटीका अध्यक्ष देवीप्रसाद दाहालले बताए अनुसार संयन्त्रको संयोजकमा मेघराज शर्मा कट्टेललाई चुनिएको छ जो नेकपा एमाले मोरङ जिल्ला कमिटीका सदस्य हुन् ।

नेता कट्टेलको नेतृत्वमा गठित ७ सदस्यीय संयन्त्रले समाजवादको आधारशीला निर्माण गर्ने कार्यक्रममा सरोकारवालाको सहभागिता सुनिश्चितसहित यसको पहिलो शर्तको रूपमा शिक्षा र स्वास्थ्यमा आममानिसको पहुँच कायम गर्न कार्यक्रम बनाउने, स्थानीय उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन बढाउने र निर्यात घटाउने, कृषि क्षेत्र आधारित कृषकमैत्री कार्यक्रम ल्याउने, स्थानीय समुदायलाई समाज विकासको मूलप्रवाहमा ल्याउन सीप र तालिमको व्यवस्थापन गर्ने, पूर्वघोषित र सञ्चालित कार्यक्रमलाई निर्वाध सञ्चालनमा ल्याउने उद्देश्य रहेको नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य एवम् पार्टी केन्द्रीय कमिटीको तर्फबाट मोरङ संघीय क्षेत्र नं. १ र २ का इञ्चार्ज युवराज बाँस्कोटाले सहजीकरण गरेको अन्तरक्रियात्मक कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य रुपनारायण मिश्रसहित जिल्ला र पालिका कमिटीसम्बद्ध नेतृत्वको उपस्थिति थियो ।

स्थानीय निर्वाचनताका जारी प्रतिबद्धतापत्र, यसअनुसार भए गरिएका समग्र कामको विवरण, यस सम्बन्धी सुक्ष्म समिक्षा र आउँदा दिनका लागि प्रस्तावित योजना उपर सघन छलफल, बहस र विमर्शसहित सम्पन्न कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष दाहालले गरेका थिए ।

सम्बन्धित खबर