भद्रपुर । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बाले एक लाख ५ हजार रुपैयाँ मूल्य बराबरका एक हजार २०० वटा विभिन्न जातका शो प्लान्टका विरूवा प्रदान गरेका छन् ।
चन्द्रगढीमा रहेको महेन्द्र पार्कमा रोप्नका लागि पार्क संरक्षण समितिका अध्यक्ष गणेश पोखरेललाई वडाध्यक्ष सुब्बाले उक्त विरुवा हस्तान्तरण गरेका हुन् । स्वर्गीय पिता वीरहाङ्ग लिम्बू तथा सासु आमा भूमिमाया लिङ्देनको स्मृतिमा पार्कको सौन्दर्य बृद्धि गर्ने विरूवा हस्तान्तरण गरेका हुन् ।
विरूवा प्रदान गर्दै लिम्बूले भद्रपुर नगरको एकमात्र बाल उद्यानका रूपमा रहेको पार्कको सदावहार सौन्दर्य कायम राख्न भारत लगायत विभिन्न देशबाट झिकाइएका सुन्दरता प्रदान गर्ने विरूवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
उनले सो पार्कको विकासका लागि स्वर्गीय पिता वीरहाङ्ग लिम्बूको पनि योगदान रहेको स्मरण गर्दै थप विरूवा चाहिए फेरि पनि दिने बचन दिएका छन् ।
नगर प्रमुख गणेश पोखरेलले वृक्षारोपण गर्दै महेन्द्र पार्कको सुरक्षा र सौन्दर्यका लागि वडाध्यक्ष तथा उहाँका परिवारबाट प्राप्त विरूवा महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा पनि लिम्बू परिवारबाट सहयोग हुनेमा विश्वाससमेत व्यक्त गरेका छन् ।