२०८१ पौष ११, बिहिवार , ०३:५९:५७ बजे

Sajhamanch
'

असहायका ‘इनी आमा’

शनिवार, जेठ २७, २०८०

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको सिंहदरबारस्थित कार्यकक्ष । एक बालिका ‘आमा’ भन्दै भित्र छिरिन् । सरासर इन्दिराको कुर्सीतिर गइन् । अनि काखमा लुटुपुटु गर्न थालिन् । इन्दिराले पनि ती बालिकाको टाउको सुमसुम्याइन् । ती ३ वर्षीया बालिकाले तोते बोलीमा भनिन्, ‘आमा तपाईं ठूलो माननीय, म सानो माननीय ल रु’ उपसभामुखलाई सबैले माननीय भनेको सुनेर बोलीमा उतारेकी रहिछन् ।

रानाले ‘हस’ भनेपछि उनी सँगैको सोफामा गएर बसिन् । उपसभामुखको कार्यकक्षमा आउने आगन्तुकलाई नमस्कार भन्दै ती बालिकाले खेलिरहिन् । उपसभामुखको कक्षमा लुटपुटिँदै खेलेको यो दृश्य धेरैका लागि नौलो थियो । कार्यकक्षमा पस्ने सबैको प्रश्न हुन्थ्यो– ‘यी नानीचाहिँ को हुन् रु’ उपसभामुख रानाले उनलाई सानैदेखि हुर्काएकी छोरी भनेर परिचय गराइन् । खासमा उनी ममता दिने आमा हुन् ।

उपसभामुख राना भने आफ्नो कार्यकक्षमा आउने व्यक्तिलाई आफैं चिया बनाएर ‘सर्भ’ गर्दै थिइन् । माननीयको कार्यकक्षमा आगन्तुकको आउजाउ चलिरह्यो । ती बालिका पनि कहिले एउटा कुनामा बस्थिन्, कहिले बाहिर जान्थिन् । एक्लै गुनगुन गरिरहन्थिन् ।

जेठ १५ मा बजेट भाषण भएपछि ६ दिन प्रतिनिधिसभाको बैठक चलेन । यहीबीचमा उपसभामुख राना कार्यालय आउन लाग्दा ३ वर्षीया अनामिकाले पछ्याएर बाटो नै छेक्ने गरी गाडी अगाडि लडीबुडी गरेपछि संसद् सचिवालयमा ल्याएकी थिइन् । अनामिका जन्मेकै दिनदेखि रानामगरको संरक्षणमा हुर्किएकी हुन् । उनी इन्दिरासँगै सुत्छिन्, खाना पनि उनले नै खुवाउनुपर्छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएदेखि अन्तिमसम्म उनी संसद् भवनभित्रै हुन्छिन् । सभामुखलाई पालो दिएर बैठक चलाउँछिन् । पछिल्लो केही दिनयता बजेटमाथि छलफल जारी छ । बैठक साँझसम्म चल्ने गरेको छ । उनी बैठकमा बसिरहन्छन्, तर काठमाडौं म्हेपीस्थित कोठामा साना लालाबाला भने उनको पखाईमा हुन्छन् । रगतको नाता नभए पनि भावनाको नाताले आफ्नै सन्तान जसरी हुर्काएका ३ वर्षमुनिका चारजना ‘छोराछोरी’ उनी कहिले आउने भन्दै कुरिरहेका हुन्छन् । घर बाहिर गाडीको आवाज आउनेबित्तिकै खुसीले चिच्याउँदै हतारिएर झ्यालमा चिहाउन पुग्छन् ।

जब उनी गेटबाट भित्र छिर्छिन् नानीबाबु दौडिएर एक तला माथिबाट पार्किङमा झुम्मिन्छन् । कोही हात समाउँछन्, कोही लुगा समाउँदै अघिपछि लाग्छन् । दिनभरि साथमा नभेटेर नियास्रिएका उनीहरू तोतेबोलीमा आफ्ना कुरा सुनाउँछन् । स्कुल जानेले शिक्षकले गरेको गतिविधि इन्दिरालाई सुनाउँछन् । उपसभामुख रानाले पनि उनीहरूको कुरा चासो दिएर सुन्छिन् । सम्साँझै खाना पाए पनि ‘आमासँगै खाने’ भन्दै केही बालबालिकाले इन्दिरालाई कुरिरहेका हुन्छन् । जतिसुकै थकित भए पनि उनीहरूलाई खाना खुवाएर सँगै सुताउँछिन् ।

उपसभामुख हुनुअघिसम्म उनी आश्रममा रहेका बालबालिकासँगै एउटै कोठा सुत्थिन् । जब उनी उपसभामुख भइन्, उनलाई सुरक्षा दिन हतियारसहितका सुरक्षाकर्मी खटिए । बालबालिका बस्ने ठाउँमा हतियारसहितको सुरक्षाकर्मी राख्न नहुने भएपछि आश्रमनजिकै एक फ्ल्याट भाडामा लिइएको छ । जुन घरमा भाडामा बस्ने अरू परिवार पनि छन् । एक तला र सुरक्षाकर्मीलाई खाना पकाउने एउटा कोठासहित उनी मासिक ४४ हजार भाडा तिर्छिन् ।

आश्रमबाट डेरा बढीमा एक सय मिटर मात्रै टाढा छ । संसद्बाट जतिबेला आए पनि उनी एक पटक आश्रममा रहेका बालबालिका भेट्न जान्छिन् । सबैलाई सुताएर आफ्नै कोठामा फर्कन्छिन् । उनी सांसद भएपछि आश्रममा रहेका नानीबाबुलाई खासै समय दिन पाएकी छैनन् । त्यसैले उनीहरूले इन्दिरालाई भेट्यो कि छाड्नै मान्दैनन् । सुत्न पनि कोठामै जान खोज्छन् । अनामिका, आम्बुले र सामुलाई सँगै सुताउँछिन् । ‘उनीहरूलाई मेरो पाखुरालाई सिरानी बनाएर सुत्ने बानी परेको छ,’ इन्दिराले भनिन्, ‘म जुन बेला आए पनि सँगै सुताउनुपर्छ ।’ उपत्यका बाहिर जाँदा पनि प्रायःजसो सुत्न कोठामै आइपुग्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

संसद् पुगेकी अनामिका र इन्दिराबीचको हेलमेलले हामीलाई म्हेपीस्थित उनको डेरासम्म डोर्‍यायो । संवाददाता बिहानै उनको डेरामा पुग्दा इन्दिरा तरकारी काटिरहेकी थिइन् । कोठामा दुई बालबालिका खेलिरहेका थिए । एक बालिका उनकै खाटमा सुतिरहेकी थिइन् । नानीबाबुलाई खाजा खुवाइन् । आफूलाई र हामीलाई पनि ‘आफ्नै फ्लेबर’ भन्दै चिया बनाएर ल्याइन् ।

तीन महिनादेखि उनले हुर्काएकी आम्बुले तोतेबोलीमा आमा भन्दै काखमा आए । लुटुपुटु गर्न थाले । टेबलमा भएको अन्डा खान खोजे । सहयोगीले रानालाई ल्याइदिएको अन्डा छोडाएर आम्बुलेलाई टुक्रा बनाउँदै खुवाइन् । सहयोगीले उनलाई दुई वटा अन्डा ल्याइदिएकी थिइन् । एउटालाई खुवाइरहँदा २ वर्षीय सामु पनि आए । आम्बुलेले आमा भन्थे भने सामुले ‘इनी आमा’ भन्दै बोलाउँथे । अरूले इन्दिरा भनेको सुनेर सामुले भने ‘इनी आमा’ भनेका रहेछन् ।

सम्बन्धित खबर