२०८१ कार्तिक २, शुक्रवार , ०९:३८:५१ बजे

Sajhamanch
'

६ घण्टादेखि सांसदहरू बैठक कुरेको कुरेकै

शुक्रवार, जेठ १२, २०८०

काठमाडौं । प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ६ घण्टा हुन लाग्दा समेत सुरु हुन सकेको छैन ।

नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसिक्यो । अनौपचारिक छलफल पनि भइरहेका छन् । तर, पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निस्किएको छैन् ।

नेताहरुका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एक सुत्रीय अडान राखिरहेका छन् । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।

एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिसके ।
बैठक सुरु हुने आशमा सांसदहरु संसदभवन भित्रै र बाहिर छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सुमना श्रेष्ठले ‘कुर्दैछौं’ भनेर ट्वीट गरेकी छन् ।

माओवादी केन्द्रका सांसद माधव सापकोटा प्रमुख सचेतक छलफल रहेको र अन्य सांसदहरु बैठक कुरिरहेको बताउँछन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहमतिको प्रयास भइरहेको बताउँछन् । उनले पशुपतिमा रहेको जलहरीको विषयमा अख्यितयार दुरुपयोग अनुसन्धान आयोगमा छलफलमा रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेतालाई लगाएको आरोप उचित नरहेको भनेर जाने प्रस्ताव समेत राखेका छन् । तथापि, प्रतिनिधिसभाको बैठक सुरु हुन सकिरहेको छैन् ।

सम्बन्धित खबर