काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध फेरि मुद्धा दर्ता भएपछि आफू इरिटेड भएको प्रतिक्रिया दिएका छन्। बुधबार रविविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।
लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गरेका हुन्। लामिछानेले यसको प्रतिक्रिया दिँदै आज सामाजिक संजालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन्। उनले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकाले जेठ ९ गते नै अदालतलाई बुझाएको पनि जानकारी दिएका छन्।
यसअघिको मुद्धामा लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा पेस गर्न लगाउने आदेश भएको थियो जसको लिखित जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र अध्यागमन विभागले प्रमाणित निस्सा प्राप्त नगरेको बताएको थियो।
रविले सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको बताएका छन्।