२०८१ कार्तिक २, शुक्रवार , ०३:५३:५६ बजे

Sajhamanch
'

भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएका छन्

शुक्रवार, जेठ ५, २०८०

काठमाडौँ । सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएको जनाएको छ । शुक्रबार संसद्‍मा आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठन भएपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्ने सङ्कल्पका साथ दूरगामी महत्त्वको निर्णय गरेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले यो निर्णय कार्यान्वयन हुन थालेपछि राज्य र लोकतन्त्रप्रति नागरिकको भरोसा र जागरुकता उत्साहजनक ढङ्गले बढेको बताए । उनले भने, विधिको शासनको अनुभूतिसँगै लोकतन्त्रप्रति जनताको भरोसा बढेको छ। अविश्वास र निराशालाई आशा र आत्मविश्वासले जितेको छ। भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकै ठाउँमा उभिएका छन्। सरकारलाई जनताको अभूतपूर्व साथ र सहयोग प्राप्त भएको छ। दृढ इच्छाशक्ति र सङ्कल्प भयो भने सबै प्रकारका विकृतिलाई नियन्त्रण गर्ने शक्ति लोकतन्त्रभित्रै छ भन्ने प्रमाण सरकारले आगामी दिनमा अझै विश्वसनीय ढङ्गले स्थापित गर्नेछ। सुशासनमा कुनै सम्झौता हुने छैन।

राष्ट्रपति पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेकोसमेत बताए।

सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धिहरू उत्साहजनक छन्। आर्थिक परिसूचक सकारात्मक हुँदै गएका छन्। अर्थतन्त्र स्वाभाविक लयमा फर्किन थालेसँगै राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखापरेको छ। विप्रेषण आप्रवाह बढेको छ। विदेशी मुद्रा सञ्चिति बढेको छ। बैङ्क ब्याजदरमा तुलनात्मक सुधार भएको छ,उनले भने ।
त्यस्तै विदेशमा रहेका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया सुरु भएको पनि नीति तथा कार्यक्रममा उल्लेख छ। राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अघि बढेको समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर