२०८१ पौष ५, शुक्रवार , ०२:२१:५४ बजे

Sajhamanch
'

राष्ट्र बैंकले भन्यो: ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख

शुक्रवार, वैशाख २९, २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाहृय क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ ।

जसले गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘ब्याजदर क्रमशः घट्न थालेको छ । फलस्वरुप, कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिन्छ’ राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ ‘यसर्थ, समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्दछ ।’

बैंक तथा वित्तीय संस्थामा निष्क्रय कर्जा अनुपात केही बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । आर्थिक शिथिलताका अतिरिक्त ऋणीको क्षमताभन्दा बढी कर्जा प्रदान गर्ने प्रवृत्ति, विगतमा कर्जा प्रवाहमा भएको तीब्र विस्तार र बैंकिङ क्षेत्र लक्षित गैरव्यावसायिक गतिविधिका कारण निष्क्रय कर्जा बढ्न गएको राष्ट्र बैंकले औंल्याएको छ । ‘यस्ता गैरव्यावसायिक गतिविधिले व्यावसायिक वातावरणमा समेत अनिश्चितता र जोखिम बढाएको छ’ समीक्षामा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको विद्यमान आकार, पुँजी पर्याप्तताको अवस्था, बाहृय क्षेत्र सुधार र वित्तीय स्रोत परिचालनको परिदृष्यलाई दृष्टिगत गर्दा आगामी दिनहरुमा तरलता र ब्याजदरमा सुधार आउन गई आर्थिक गतिविधि चलायमान हुन थप सहयोग पुग्ने देखिन्छ ।’ तथापि, यसलाई दिगो बनाउन उत्पादन र उत्पादकत्व बढाउने गरी संरचनात्मक सुधार कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ ।

सम्बन्धित खबर