काठमाडौं । ललितपुरका सुदन धिमालले विद्युतीय गाडी चढ्न थालेको एक वर्ष भयो । उनको अनुभव मिश्रित छ । पेट्रोल खर्च र महँगो सर्भिसिङको तनावबाट त उनी मुक्त छन् तर अझै पनि लामो यात्रामा आफ्नै गाडी लिएर निस्किने आँट पलाइहालेको छैन ।
‘हुन त अहिले पहिलेभन्दा अवस्था धेरै सुधारिएको छ’ धिमाल भन्छन्, ‘तैपनि ढुक्कले चाहेको ठाउँमा चार्जिङ स्टेसन पाइने अवस्था छैन ।’
चितवनका संगम सुनार मध्यम दूरीको यात्रामा भरसक पेट्रोल या डिजल गाडी रुचाउँदैनन् । तर, विद्युतीय सवारी प्रयोगकर्तामा अझै आत्मविश्वास बलियो नभइसकेको उनको बुझाइ छ ।
‘निजी क्षेत्रले पनि चार्जिङमा ठूलो लगानी गर्न चाहेको छैन । विद्युतीय गाडी प्रयोगकर्तालाई शहरबाट गाडी लिएर निस्किंदा चार्जिङ सुविधा नपाइने मनोवैज्ञानिक दबाव र डर छ’, सुनार भन्छन् ।
गाडी किन्न चाहने साथीभाइले पनि विद्युतीय गाडीको ब्याट्रीको आयु र गाडीले दिने रेन्जबारे धेरै शंका गर्दै सोध्ने गरेको उनी बताउँछन् । ‘पेट्रोल गाडीको तुलनामा यसको सञ्चालन खर्च धेरै सस्तो छ, १०–१२ वर्षपछि ठूलै मूल्यमा ब्याट्री फेर्दा यो गाडी नयाँ जस्तै हुन्छ’ उनले भने, ‘त्यतिबेला ब्याट्रीको आयु र ठूलो ब्याकअप क्षमता विकास भइसकेको हुन्छ ।’
केही महिनादेखि बिजुली गाडी चढिरहेका काठमाडौं, मैतीदेवीका सन्देश पराजुली वातावरणमा हानि नहुने गरी गाडी चलाउन पाएकोमा हुने आनन्द नै विद्युतीय गाडीको मूल विशेषता मान्छन् । केही अवगुण भए पनि लाभको तुलनामा त्यो न्यून भएको र एक दिन केही घण्टा चार्ज गरेर हप्ताभरि ढुक्क हुनसक्ने अवस्था रहेको उनको भनाइ छ ।
‘पेट्रोल गाडीमा मासिक १५ हजार माथिको तेल लाग्थ्यो, अहिले १५ सयको बिजुलीले महिनाभरि चल्छ’ सन्देश भन्छन्, ‘लामो यात्रामा निस्किने कहिलेकाहीं मात्रै हो । त्यही पनि चार्जिङ स्टेसनहरू खुल्न थालेका छन्, अब धेरै समस्या हुन्छ भन्ने लाग्दैन ।’
विद्युतीय गाडी चढ्नेले आयातित पेट्रोल छाडेर नेपालकै बिजुली प्रयोग गर्न पाएकोमा गर्व महसुस गर्नुपर्ने उनको भनाइ छ । सरकारले पनि करको दर पुनरावलोकन गरे विद्युतीय गाडीको प्रयोग बढेर वातावरण, यातायात व्यवस्था र देशको अर्थतन्त्रमा समेत सुधार हुने सन्देशको आशा छ ।
केही असहजताका बाबजुद नेपालमा बिजुली गाडीप्रतिको आकर्षण बढ्दै जान थालेको छ । आकर्षण बढ्दै गर्दा विद्युतीय सवारी प्रयोगकर्ताको सहजताका लागि चार्जिङ पूर्वाधार निर्माणको काम पनि अघि बढेको छ । यसको गति भने सुस्त छ ।
बढ्दो आकर्षण
२०७९ साउनदेखि पुससम्म दर्ता भएका ३ हजार १०० चारपांग्रे सवारीमध्ये १४०० विद्युतीय थिए । यसले नयाँ दर्ता हुने करिब आधा चारपांग्रे विद्युतीय भएको देखाएको छ ।
चालु आर्थिक वर्ष २०७९र८० सकिन ३ महिना बाँकी रहँदा ६ अर्ब ८४ करोड मूल्यका २ हजार ४५१ वटा बिजुली गाडी आयात भइसकेका छन् । आर्थिक वर्ष २०७८र७९ को यही अवधिमा ५ अर्ब ३२ करोड मूल्यका १ हजार ४७३ वटा विद्युतीय गाडी आयात भएका थिए ।
चालु आवमा विद्युतीय सवारीको आयात मात्रै हैन, माग र व्यापार पनि बढेको छ । यो वर्ष १०० किलोवाटसम्मको गाडीमा सर्वाधिक आकर्षण देखिन्छ । गत चैतसम्म २ हजार ३७९ वटा १०० किलोवाटसम्मका गाडी आयात भएका छन् । जबकि १०० देखि २०० किलोवाटसम्मका ६५ वटा मात्रै गाडी आयात भएका छन् । यो अवधिमा २०० देखि ३०० किलोवाटसम्मका ७ वटा गाडी नेपाल भित्रिएका छन् ।
यसले बढी कर लाग्ने सवारीमा आकर्षण घटेको प्रष्ट पार्छ । आर्थिक वर्ष २०७७र७८ मा २६१ वटा विद्युतीय काररजीप भ्यान आयात भएका थिए । २०७७र७८ मा २४९ र २०७६र७७ मा ५७५ वटा विद्युतीय सवारी आयात भएका थिए ।
विद्युतीय गाडीको कारोबारमा संलग्न ‘दि गो’ का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राजन रायमाझी वितेका दुई आर्थिक वर्षमा मात्रै साढे १५ हजारभन्दा बढी दुई, तीन र चारपांग्रे विद्युतीय सवारी आयात भएको बताउँछन् । उनका अनुसार यो तथ्यांक उत्साहजनक छ ।
अहिले तीनपांग्रे विद्युतीय सवारीको प्रयोग उपत्यका बाहिर धेरै छ । दुईपांग्रे विद्युतीय सवारीमा सम्भावना अनुसार अझै पनि धेरै उपभोक्ता आकर्षित हुनसकेका छैनन् । रायमाझीका अनुसार नेपाल जस्ता विकासोन्मुख देशका लागि विद्युतीय सवारी धेरै महँगा छन् ।
‘यद्यपि, पछिल्ला वर्षहरूमा विद्युतीय सवारीको लागत द्रुत रूपमा घट्दै गएको छ’ उनी भन्छन्, ‘यसले गर्दा धेरै राम्रा विकल्पहरू उपलब्ध हुँदैछन् ।’
बाँकी छ हिच्किचाहट
आकर्षण बढिरहे पनि विद्युतीय सवारीको प्रयोग गर्न अझै पनि धेरै मान्छे हिच्किचाउने गरेका छन् । ‘दि गो’का सीईओ रायमाझीका अनुसार विद्युतीय सवारीको सीमित रेन्ज छ, एक पटकको चार्जमा धेरै टाढा पुग्न सकिंदैन भन्ने मनोविज्ञान हावी छ ।
‘तर अब एक पटकको चार्जमा सयौं किलोमिटर यात्रा गर्न सकिने आधुनिक ईभी मानिसहरूको व्यावहारिक विकल्प हुनेछ’ उनी भन्छन्, ‘प्रविधि विकास हुँदै गएकाले नेपालका सडकमा पनि ईभीबाटै आवतजावत गर्न सम्भव हुँदै जानेछ ।’
उनका अनुसार ईभीको मर्मतसम्भार पनि पेट्रोल गाडीको तुलनामा कम गर्दा हुन्छ । किनकि, ईभीमा पार्टस्हरू नै कम हुन्छन् । पेट्रोल र डिजल गाडीमा करिब १८ हजार पार्टस् हुन्छन् भने विद्युतीय सवारीमा करिब ५ हजार मात्रै । यसमा तालिकाबद्ध रूपमा फेर्नुपर्ने पार्टस् पनि कम हुन्छन् । तर यस्ता गुण भए पनि ईभीमा ब्याट्री र चार्जिङ पूर्वाधारबारे प्रश्नहरू भने बाँकी छन् ।