२०८१ पौष ६, शनिवार , ०१:४५:५३ बजे

Sajhamanch
'

प्यासन काठमाडौँ : मेरो पहिलो अनुभव

बुधवार, वैशाख २०, २०८०

यो उतिबेलाको कुरा हो, जतिबेला मैले कक्षा १२ सम्मको औपचारिक अध्ययन पूरा गरेकी थिएँ । मेरो घर इलाममा अब कहाँ पढ्ने भन्ने विषयमा छलफल हुन थालेको थियो । काका काठमाडौँ तिरैै छ उतै पढ्छे भन्ने सल्लाह हजुरबुवा, हजुरआमा र ममीबाट आयो । तर, ड्याडीले चाहिँ एउटा स्कुटर किन्दिन्छु घरैबाट इलामको मरब क्याम्पस पढ्छे भन्ने कुरा गर्नुभयो । उता काकाले नानी आओस् न त यतै पढ्छे, काकीलाई पनि साथी हुन्छ भन्दै हुनुहुन्थ्यो । कुरा रह्यो अब मेरो डिसिजनको, १२ कक्षासम्म घरबाटै पढियो, अब भने बाहिर निस्केर बाह्य वातावरणमा नचिनेका साथी, सर, म्याम, नजानेको ठाउँ परिवेश त्यहाँको जीवनशैली, सिकाईका तरिकाहरु बुझ्दै पढ्नुपर्ला । यो वर्ष म गएँ भने अर्को वर्ष त बहिनी सञ्चिता पनि आउँछे । त्यसपछि दिदी बहिनी बसेर पढ्न हुन्छ भन्ने सोचले मैले काठमाडौँ नै जान्छु भनेर जिद्दी गरेपछि ड्याडीले पनि सहमति जनाउनु भयो ।

घरबाट बाहिर हुँदा आफूलाई पनि त हरेक कुरा थाहा हुन्छ नि, सधैं घरमात्र बसेर ड्याडी ममीले हाम्रो लागि गरेर पनि त पुग्दैन । हामीलाई पनि त पढाई सँगसँगै व्यवहारिक ज्ञान चाहिन्छ । यही विचारले २०७२ सालको मंसीर २ गते म, काका काकीको साथ लागेर सानोभाई लिएर बिर्तामोडबाट बेलुकीको ५ बजे रात्रीकालीन बस चढ्यौँ । बाघजस्तो लाग्ने आफ्नै ड्याडीको अरुबेला छायाँ देख्दा पनि पर भाग्ने हामी । काठमाडौं हिड्ने बेला चिसो पानी खालिस्, राम्रो पढ्नु भन्दै मलाई बाटो खर्च दिएर अरु काकाको खातामा लगाइदिने भन्दै आशीर्वाद दिएर विदा गर्नुभयो ।

                            सुष्मा लुईंटेल

अझैसम्म पनि ती दुई शब्दले मलाई सम्झेपिच्छे गाँठो परेर आउँछ । जति नै कठोर मन भएता पनि आफूबाट टाढा भएपछि सन्तानको अझ बढी माया लाग्ने रहेछ । त्यहीँ माथि म घरकी ठूली छोरी, सबैलाई हेपेर भाई बहिनीसँग झगडा गर्दै बसेको बानी । आफ्नो गाउँघर कोही नचिनेको नजानेको थिएन । अब भने मलाई बानी पर्न धेरै गाह्रो हुन्छ होला । गएर के पढ्ने, साथी पनि छैनन्, ठूलो सहर, कस्ता होलान् त्यहाँका मान्छेहरु आदि इत्यादि कुराहरु मनमा खेलाउँदै थिएँ । बसको हर्न बज्यो, आँखाभरि आँशु पार्दै म आफ्नो गन्तव्यतिर अघि बढेकी थिएँ ।

नेपालको संविधान असोज ३ गते जारी भएपछि तराईका बासिन्दाहरुलाई खै के विषयमा चित्त बुझेको थिएन कुन्नि, बन्द हड्तालको समय थियो । अझै भारतबाट नियमित आउनु पर्ने पेट्रोलियम पदार्थ पनि रोकिएको थियो । खै यस्तै कुनै कारणले हो हामीहरु सवार गाडीलाई प्रहरीले इस्कर्टिङ गरेर लगिरहेको थियो । गाडी बाहिर त्रासयुक्त वातावरण थियो । बसहरुको सिसा फुटाइएका थिए । कतै आगो लाग्दै थियो त कतै तोडफोड हुँदै थियो । हामी राति ११ बजेतिर खाना खाने ठाउँमा पुगेका रहेछौं । कहिल्यै त्यसरी लामो यात्रा नगरेको म त निन्द्राले झयापै भएँछु । बिउँझिंदा त कता हो कता आएजस्तो लाग्यो ।

यात्रुहरु खाना खानलाई गाडीबाट ओर्लिंदै थिए, म पनि एकछिन बाहिर खुट्टा तन्काउन पर्यो भनेर निस्कदै गर्दा झल्यास्स ममीले हिंड्ने बेला भनेको कुरा याद आयो । राति गाडीबाट बाहिर निस्कँदा गाडीको नम्बर, रङ, नाम राम्रोसँग हेरेर मात्र यताउता निस्कनु है फेरि अर्कै गाडी पर्नसक्छ नि, सबै उस्तै देखिन्छन् । मैले पनि ममीले भनेजस्तै गरी सबैकुरा विचार गरेर मात्र यताउता लागेँ । होटलको खाना नखाने भनेर हामीले घरबाटै खानेकुरा बोकेर हिंड्या थियौं । अरु यात्रुहरु खाना खाएर गाडीमा पसेपछि ड्रार्ईभरले हर्न बजाउँदै बस काठमाडौँतर्फ हुँइकियो ।

बिहानीपख रफ्तारमा गुढिरहेको गाडी अचानक रोकियो । हामी धादिङको चिया नास्ता गर्ने ठाउँमा आइपुगेका रहेछौं । हातमुख धोएर सामान्य नास्ता गरी फेरि हामी बस चढ्यौँ । अब भने विभिन्न बाहिरी दृश्यहरु हेर्दै, ठाउँहरुको नाम पढ्दै हामी बिहान १० बजेतिर काठमाडौँ स्वयम्भु, सानोभर्याङ पुग्यौँ । गाडीबाट ओर्लेर आफ्ना सामानसहित हामि विस्तारै आफू बस्ने कोठातर्फ लागको थियौं ।

गगनचुम्बी घरहरु, अनगिन्ती सपना बोकेर हिंडेका मान्छेको भिड, अस्तव्यस्त जीवनशैली, सवारी साधनको चाप, कोलाहल सहर, धँुवाधुलो, जताततै फोहोरमैलाको डंगुरजस्ता दृश्यहरु देख्दा कताकता किन पो आएँछु जस्तो लागेको थियो । त्यति शान्त, सफा, सुन्दर आफ्नो गाउँ छोडेर जस्तो लाग्यो । तर, आफ्नो भविष्य बनाउनु थियो, गाउँमा सहरका सुविधाहरु थिए भने कोही काठमाडौँसम्म किन आउथ्यो होला र ! यस्तै कुराहरु सोच्दै अनि सहर घुम्दै मेरो कलेज जाने दिन आइसकेको थियो । काकाले कलंकीस्थित एड मार्क कलेजमा भर्ना गरिदिनु भयो, २०७२ मंसीर १६ बाट मेरा कलेजका दिनहरु सुरु भएका थिए ।

पहिलो दिन काकाले माइक्रो चढेर जानु भन्दै चोकसम्म ल्याइदिनु भयो । कलेजमा पहिलो साथी सृष्टिलाई बनाएँ । बिहान कलेज त आइयो अब घर कताबाट जाने ? माइक्रो कहाँ लाग्छ थाहा भएन । वाफलसम्म अर्की साथी थिइन्, हिंड्दै आयौं । त्यसपछि एक्लै घरसम्म आएकी थिएँ । २–३ दिन यसरी नै हिंड्दै घर र कलेज गरेकी थिएँ, पछिमात्र थाहा भयो अहिले जहाँ अन्डरग्राउन्ड गरिएको छ, त्यहाँ पहिला पूल थियो । त्यहीँ पूल पारिबाट चक्रपथको गाडी लाग्ने रहेछ ।

मंसीरको बिहान अध्याँरो नै थियो, माइक्रोले अलि पर रोकिदिएछ, हराएँछु । मन्दिर देखेर उभिएँ, कोही अन्जान मान्छेले पछ्याएजस्तो गर्दै बागबजार जाने हो बहिनी सँगै जाउँ न भनेको सुनेँ । हतारहतार खल्तीमा भएको मोबाइल झिकेर फोन गरेजस्तै गरेर डराँउदै १२० को स्पिडमा दौडिएँ । सानो ठाउँबाट एकैचोटी ठूलो सहरमा आउँदा मलाई मात्र होइन, सायद सबैको यस्तै अनुभवहरु छन् होला । ठाउँ अनुसार चनाखो भएर हिड्नु पर्ने रहेछ । समय बित्दै गयो त्यसपछि त जताबाट पनि आउने जाने गर्न थालें, साथीहरु पनि चिनेँ । फेरि माइक्रोले वरपर रोक्दा पनि हराउने भइँन ।

काठमाडौं पुग्दा र क्याम्पस टेक्दाको यो संस्मरणसँगै फेरि केही दिनमा अर्को कोशेली लिएर पक्कै आउनेछु । अब त कति भए यस्ता विषयहरु । लेखिरहनेछु ।

सम्बन्धित खबर