२०८१ मंसिर १०, सोमवार , ०६:४१:०५ बजे

Sajhamanch
'

बाबु् जेलमा तीन नाबालककी आमा क्यान्सरसँग लड्दै

सोमवार, वैशाख १८, २०८०

बाह्रदशी । सवारी ज्यान मुद्धामा विगत ८ महिनादेखि झापा कारागारमा रहेका फुसन मुर्मूकी पत्नी राधा १० महिनाको छोरालाई स्याहार्दै क्यान्सर रोगसँग लडिरहेको पाइएको छ ।

बाह्रदशी ७ डाँगीबारीकी राधा मुर्मू तीन सन्तानकी आमा हुन् । उनका १० महिनाको छोरा, ५ वर्ष र ९ वर्षका दुई छोरी छन् । तीन नाबालक छोराछोरीको संरक्षणका लागि आमा राधाले प्राण घातक क्यान्सर रोगलाई परास्त गर्नु नै पर्नेछ । त्यसका लागि उनलाई चाहिएको छ अरुबाट हौसला र आर्थिक सहयोग ।

घाँटीमा समस्या आएपछि शुरुमा उनलाई थाइराइडको शंका लागेको थियो । अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले क्यान्सर रोग भनेर बताएपछि उनी आकाशबाट खसेजस्तै भइन् । श्रीमान् कारागारमा अनि सम्पत्तिको नाममा १० धुर जग्गा र सानो एकतले घर ।

क्यान्सर रोगको उपचारका लागि ठूलो समस्या देखापर्यो । उनले सरसापट र ऋणपान गरेर गत माघ २५ गते घाँटीको शल्यक्रिया गराएकी थिइन् । क्यान्सर रोगलाई निरन्तर उपचार गर्नेुपर्ने हुन्छ । तर, आर्थिक अभावका कारण उनले थप उपचार गर्न सकेकी छैनन् ।

यस्तो अवस्थामा गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भुपाल बस्नेतले थाहा पाएपछि उनको थप उपचारका लागि प्रक्रिया अघि बढाइएको हो । आज क्यान्सर पीडित मुर्मूकै घरमा पत्रकार सम्मेलन गरी संस्थाले उनको उपचारका लागि आर्थिक सहयोगका लागि आव्हान गरेको छ ।

संस्थाका अध्यक्ष भूपाल बस्नेतले तीनजना नाबालक छोराछोरीका लागि मुर्मूको ज्यान बचाइदिन सबैसँग आग्रह गरेका छन् । कार्यक्रममा बाह्रदशी ७ का वडाध्यक्ष मित्र भट्टराई, बाह्रदशी जेसीजका अध्यक्ष लक्ष्मी उप्रेती, निवर्तमान अध्यक्ष पुष्पलाल धमला, नेपाली कांग्रेस हल्दिबारीका सभापति गंगा प्रसाई, स्थानीय युवा टंक कार्कीले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मुर्मू परिवारले माछापुछ«े बैंकमा राधा मुर्मूको नाममा रहेको ४७०५५४०१०५९५०५३४ नं को बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध पनि गरेका छन् ।

सम्बन्धित खबर