बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा महामारी रोकथामका लागि व्याधिक्षमता अभिवृद्वी कार्यक्रम गरिएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुरको आयोजनामा आज भएको कार्यक्रममा वडाका जेष्ठ नागरिकहरुले लाभ लिएका छन् । ३५ जनाभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई रोगव्याधसँग लड्ने शक्ति दिने औषधी निःशुल्क वितरण गरिएको छ ।
बुढेसकाल लागेपछि निन्द्रा नलाग्ने, हातखुट्टा बाउँडिने लगायतका रोगहरु देखिने गरेका कारण आयुर्वेदिक चुर्ण वितरण गरिएको कबिराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे र ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष डम्बर बस्नेतले २ जना ज्येष्ठ नागरिकलाई औषधी प्रदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा उपस्थित मध्येका सबैभन्दा ज्येष्ठ ८९ वर्षीय जयप्रसाद खरेल र ८७ वर्षीय खगप्रसाद आचार्यलाई औषधी प्रदान गरिएको हो ।