अर्जुनधारा । झापाको अर्जुनधारा ३ खुुदुनाबारीस्थित कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेलाबहादुर लिंदमको घर शिलान्यास गरिएको छ ।
गएको महिना जङ्गली हात्तीले पूर्णरुपमा घर नष्ट गरिदिएपछि पैसाको अभावमा लिंदम पालमुनी बसोबास गर्दै आएका थिए ।
नयाँवर्षको अवसरमा एक कार्यक्रमका बीच तत्कालीन संविधान सभा सदस्य प्रेमबहादुर गिरीले उक्त घरको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नेकपा एमाले झापाका उपाध्यक्षसमेत रहेका कार्यक्रमका प्रमुख अतिथि गिरीले समाजको बत्ती बनेर युथ अफ खुदुनाबारी क्लबले काम गर्दै आएकोमा प्रशंशा गरे । सबै मानिस सामाजिक कार्यमा एकता भए जस्तोसुकै काम पनि सहजै सफल हुने एमाले नेता गिरीले बताए ।
उनले घर निर्माणका लागि ५ हजार रुपैयाँ सहयोग गर्न घोषणा पनि गरेका छन् । ६९ वर्षीय लिंदमको ३ कठ्ठा ११ धुर जमिन र पाँच जनाको परिवार रहेको जनाइएको छ ।
सामाजिकरुपमा सक्रिय संस्था युथ अफ खुदुनाबारीको पहलमा स्वदेश तथा विदेशमा सहयोगको लागि अपिलसँगै स्रोत जुट्दै गएको घर निर्माण समितिका संयोजक मदन गिरीले जानकारी दिएका छन् । २ कोठाको टिन लगाएर घर बनाउने लक्ष्य रहेको उनले बताए ।
हालसम्म घर निर्माणको लागि १ लाख २२ हजार रुपैयाँ संकलन भएको र स्वदेश तथा विदेशबाट थप सहयोग आउने अपेक्षा गरिएको युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले जानकारी दिए ।
कैंदले खानेपानी उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले पछिल्लो दिनमा क्लबले सामाजिक विकृति हटाउने कामसहित सामाजिक रुपमा दियो भनेर काम गरेको बताए । उनले घर निर्माणको लागि ५ हजार आफूले सहयोग गर्ने बताए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्य चन्द्रा तामाङ, साविक खुदुनाबारी गाविस पूर्व अध्यक्ष नरबहादुर कन्दङ्गवा राम्रो काम गर्दा सहयोग जुट्ने बताए ।
क्लबका अध्यक्ष मनोज सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक तथा राजनीतिक अगुवाहरुको सहभागितामा भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन सचिव देवआनन्द कट्टेलले गरेका थिए ।