बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ठाकुर समाज एवम् नेपाल नाई संघमा आवद्ध नेपाली नागरिकको पेशागत एवं नागरिकता सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
नेपाल नाई संघ झापाको सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि थेवेले उक्त आश्वासन दिएका हुन् । नागरिकता नहुँदा वर्षौंदेखि नेपालमा बसोबास गर्दै आएका नेपाली नागरिकले खेप्नुपरेको समस्याबारे आफू जानकार रहेको उनको भनाई छ । संसदले पारित गरिसकेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरी जन्मसिद्धका आधारमा नागरिकता पाउने अधिकार कार्यान्वयनमा ल्याउन आफूले पनि पहल गर्ने उनले जनाए ।
कार्यक्रमका अर्का वक्ता कांग्रेस झापा सचिव कृष्ण हुमागाईले मजदुरदेखि उच्च वर्गका ब्यक्तिले पनि सैलुनमा पसेर कपाल काट्न सक्ने गरी दररेट कायम गरी सेवाग्राहीलाई अधिकतम सेवा दिन नाई संघलाई आग्रह गरेकका थिए ।
रामबृज ठाकुरको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा आमन्त्रितहरुलाई राजकुमार ठाकुरले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गरेका थिए।