भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायको स्वास्थ्य उपचारका लागि निःशुल्क बीमाको व्यवस्था गरिदिएको छ ।
नगरपालिकामा कार्यक्रमको आयोजना गरी नगर कार्यपालिकाले नगर क्षेत्रमा रहेका ६३४ सन्थाल परिवारका लागि २२ लाख १९ हजार रुपैयाँको चेक स्वास्थ्य बीमा महसुल कार्यालयलाई प्रदान गर्दै निःशुल्क उपचारको प्रबन्ध गरिदिएको हो ।
नगरप्रमुख गणेश पोखरेलको नेतृत्वमा नगर कार्यपालिका सबै पदाधिकारीको उपस्थितिमा स्वास्थ्य बीमा बोर्डका कर्मचारीलाई रकम हस्तान्तरण गरिएको थियो ।
भद्रपुर नगरपालिका भित्र ६३४ घर परिवार रहेको सन्थाल समुदायको दुई हजार ५२२ जनसंख्या रहेको सो अवसरमा जानकारी दिइयो ।
सन्थाल समुदायका सबै नागरिकले स्वास्थ्य बीमा मार्फत अबदेखि निःशुल्क उपचार पाउने गरी रकम बुझाइएको नगरप्रमुख पोखरेलले जानकारी दिएका छन् ।