नेपाली मुद्राको छपाईमा बर्सेनी अर्बौं रुपैयाँ खर्चंदै आएको नेपाल राष्ट्र बैंकले ‘गो क्यासलेस’को नारा दिएर बैंक तथा वित्तीय संस्थाहरुलाई ‘डिजिटल्ली’ वित्तीय कारोबार गर्न सुझाएको छ । यही नारालाई सार्थकता प्रदान गर्दै बैंकहरुले डिजिटल कारोबार गर्न थालेका हुन् । पछिल्ला केही वर्षदेखि नेपालका सहकारी संस्थाहरुले पनि अत्याधुनिक प्रविधि अंगालेका कारण पैसाको कारोबार गर्न अझ सजिलो बनाएका छन् । अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गरी डिजिटल कारोबारमा सहकारी संस्थाहरु अग्रसर हुँदा छिटो, छरितो अनि पारदर्शी कारोबार भइरहेको हो ।
कोभिड–१९ को महामारीका बेला नोटबाट पनि कोरोना भाइरस सर्छ भन्ने प्रचारले डिजिटल पेमेन्टको संख्या बढेको र सो पछि ‘डिजिटल प्लेटफर्म’ प्रयोगमा बढोत्तरी भएको सेवा प्रदायकहरुले बताएका छन् । योसँगै सहकारी कारोबारलाई प्रविधिमैत्री बनाउन दर्जनौं सफ्टवेयरहरु उत्पादन र प्रयोग भएका छन् । हिजो वित्तीय कारोबारको ‘म्यानुअल रेकर्ड’ राख्ने संस्थाहरु पछिल्लो वर्षहरुमा एकाउन्टिङ सफ्टवेयर प्रयोग गर्न अग्रसर हुँदा डिजिटल पेमेन्टको मात्रा पनि बढिरहेको बताइन्छ ।
यसका लागि कोसिस, फिनास्त्र, एम बैंक, मोफिन, इन्फिनिटी सिबिएस, एभरेष्ट सिबिएस लगायत दर्जनौं सफ्टवेयरहरु प्रयोगमा छन् । ती बैकिङ सफ्टवेयर र फोन पे, क्युआर मर्चेन्ट, एटिएम, ईसेवा, खल्तीजस्ता डिजिटल पेमेन्ट गेटवेहरुले एकापसमा समन्वय गरी आर्थिक कारोबारका लागि सहज बनाएका छन् ।
सहकारी संस्थाहरुले वार्षिक के कति मात्रामा डिजिटल कारोबार गरिरहेका रहेछन् भन्ने सम्बन्धमा ‘सफ्टवेयर भेण्डर’ले उपलब्ध गराएको तथ्याङ्कमात्र पर्याप्त नहुन सक्छ । कोशी प्रदेशभरमा सहकारीमार्फत् भइरहेको डिजिटल कारोबारको विवरण माग गरिए पनि सफ्टवेयर उत्पादकहरुबाट कतिपय तथ्याङ्क देशैभरको प्राप्त भएकाले यकिन गर्न सकिएन ।
यता प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका सहकारी अधिकृत मनोज कार्की चाहिँ यो प्रकृतिको तथ्याङ्क हालसम्म संकलन नभएको बताउनु हुन्छ । ‘अहिलेसम्म सहकारी विभागबाट पनि निर्देशन आएको छैन र हामीले पनि कति संस्थाहरु डिजिटल पेमेन्टमा अग्रसर भए भन्ने तथ्याङ्क राखेका छैनौं’ सहकारी अधिकृत कार्की भन्नुहुन्छ, ‘सहकारी बुझ्न एकदमै आवश्यक तथ्याङ्क हुने रहेछ, हाम्रो कार्यालयले कोशी प्रदेशमा आगमी आर्थिक वर्षबाट कार्यान्वयन गर्ने गरी यो विषय समेट्छौं ।’
के हो डिजिटल कारोबार ?
बचतकर्ताहरुले आफ्नो एकाउन्टमा जम्मा भएको रकम बैंक वा वित्तीय संस्थामा नगई प्रविधिको माध्यमबाट आवश्यकता अनुसार झिक्ने, भुक्तानी गर्ने वा स्थानान्तरण गर्ने सजिलो माध्यम नै डिजिटल कारोबार हो । यसका लागि एटिएम, मोवाइल बैंकिङ, क्यूआर मर्चेन्ट, क्यूआर टेलरजस्ता प्रविधि प्रयोगमा छन् । फोन पे, ईसेवा, खल्तीजस्ता पेमेन्ट गेटवेहरुसँग समन्वय गरी बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल कारोबार गर्ने गरेका छन् ।
मोवाइल एप्सबाट सरकारलाई बुझाउनु पर्ने कर तथा राजश्व तिर्न सकिने हुन्छ भने बीमा शुल्क पनि भुक्तानी गर्न सकिन्छ । कतिपय विद्यालयहरुले विद्यार्थीको मासिक शुल्क बुझाउन पनि सहकारीको मोवाइल एप्स उपलब्ध गराएको पाइन्छ ।
आफ्नो बैंक तथा वित्तीय संस्थाले खातावालाको नाममा जारी गरेको कार्डको प्रयोग गरेर मेसिनको सहायताले जुनसुकै समयमा पनि पैसा झिक्ने सुविधा एटिएम हो । आफ्नै ‘अटोमेटिक टेलर मेसिन’ (एटिएम) राखेर सेवा प्रवाह गर्ने कोशी प्रदेशको पहिलो संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) हो ।
यस्तै बैंक तथा वित्तीय संस्थाको ‘एप्स’ प्रयोग गरी मोवाइल फोनबाटै रकम ट्रान्फर गर्न, महसुल तिर्न, सामान किन्न सजिलो माध्यम मोवाइल बैंकिङ हो । अनि बस्तु वा सेवाको बिक्री गर्दा ग्राहकहरुबाट नगद नलिई सोझै आफ्नो बैंक खातामा पैसा जम्मा गर्न ‘क्यूआर मर्चेन्ट’को सुविधा दिइएको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै सहकारी संस्थाहरुले डिजिटल कारोबारमा दिनानु दिन प्रगति गरिरहेका सञ्चालकहरुको भनाई छ ।
सफ्टवेयर भेण्डरको तथ्याङ्क
सहकारी लेखा व्यवस्थापन सम्बन्धित कोसिस सफ्टवेयर प्रयोग गर्ने कोशी प्रदेशका ९ वटा सहकारी संस्थाले सदस्यलाई एटिएम सुविधा दिएको तथ्याङ्क छ । कोसिसका अपरेशनल म्यानेजर सन्दिप रानाभाटका अनुसार उक्त ९ वटा सहकारी संस्थाका १ हजार ३२५ जना सदस्यले एटिएम कार्ड लिएका छन् । गत माघ मसान्तमा ती सदस्यहरुले ३ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ एटिएमबाट रकम झिकेको कोसिससँग तथ्याङ्क छ ।
यसैगरी, कोसिस सफ्टवेयर प्रयोग गर्ने कोशी प्रदेशका ७३ वटा सहकारी संस्थाका १४ हजार ३२४ जना सदस्यले चालू आर्थिक वर्षको माघ मसान्तसम्म ४५ करोड १६ लाख ५५ हजार ७६५ रुपैयाँ कारोबार भएको कोसिसका अपरेशनल म्यानेजर रानाभाट बताउनु हुन्छ ।
सहकारी संस्थाहरुले बचतकर्ता सदस्यको विश्वास जित्न हिजोको जस्तो कलेक्सन सिट बोक्न छाडेका छन् । आज धेरैवटा सहकारी संस्थाका बजार प्रतिनिधिहरु मोवाइल वा ट्यावमा संस्थाको एप्स प्रयोग गरी संकलित रकमको विवरण प्रविष्ट गरेको पाइन्छ ।
कोसिस सफ्टवेयर प्रयोग गर्ने कोशी प्रदेशका १५२ वटा सहकारी संस्थाका ७३८ जना बजार प्रतिनिधिहरुले कलेक्टर एप्स प्रयोग गर्ने गरेको रानाभाटको भनाई छ । एसएमएस प्रयोग गर्ने संस्था ११० वटा र सो सुविधा लिने २६ हजार ४३४ सदस्य रहेका छन् ।
यसैगरी अर्को सफ्टवेयर भेण्डर एम बैंकले डिजिटल कारोबारमा देशका ६०० भन्दा बढी सहकारी संस्थाहरु जोडेको बताइएको छ । ती संस्थामा आवद्ध ६ लाख सदस्यहरुलाई एम बैंकले मोवाइल बैंकिङ लगायत डिजिटल सेवा प्रदान गरेको उसको तथ्याङ्क छ ।
प्रथम आइटी सिस्टम प्रालिले उत्पादन गरेको सहकारी सफ्टवेयर फिनास्त्रको प्रयोगकर्ताहरु पनि बर्सेनी बढिरहेको पाइएको छ । डिजिटल पेमेन्ट गेटवेहरु फोन पे, इसेवा, खल्ती आदिसँग फिनास्त्रका डेभलपर्सले समन्वय गरेर सहकारीमा वित्तीय कारोबारलाई सहज बनाउँदै लगिएको प्रशासकीय प्रमुख राजु श्रेष्ठ बताउनु हुन्छ ।
फिनास्त्र प्रयोग गर्ने सहकारी संस्थाहरु ५४७ वटा छन् भने तीमध्ये ३७ वटा सहकारीले मोवाइल बैंकिङ सेवा प्रवाह गरिरहेका छन् । ती ३७ वटा संस्थाका ६९० जना सदस्यले मोवाइल बैंकिङ सुविधा लिएका भने चालू आर्थिक वर्षको माघ मसान्तमा १२ लाख ४४ हजार ५४८ रुपैयाँ यो माध्यमबाट कारोबार भएको प्रबन्ध निर्देशक भुपेन्द्र मैनालीले उपलब्ध गराउनु भएको तथ्याङ्कमा उल्लेख छ ।
फिनास्त्र सफ्टवेयर प्रयोग गर्ने तीनवटा सहकारी संस्थाले मात्र सदस्यलाई एटिएम सुविधा प्रदान गर्न थालेका छन् । यो रिपोर्ट तयार गर्दा ६२ जना सेयर सदस्यले एटिएम भिसा कार्ड लिएको तथा चार लाख ५० हजार हाराहारी रकम एटिएमबाट कारोबार गरेको देखिन्छ ।
ती सहकारीमध्ये २९७ वटा संस्थाका ७३५ जना कर्मचारीले कलेक्टर एप्स प्रयोग गर्ने गरेका छन् । अरु सफ्टवेयर भेण्डरसँग तथ्याङ्कका लागि आग्रह गरिए पनि समयमा उपलब्ध गराएनन् ।
यसैबीच, सहकारी संस्थालाई प्रविधिमैत्री बनाउँदै आफ्ना सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेका केही संस्थाहरुले गरेको डिजिटल कारोबारको आँकडालाई यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)
एनएमसी नेपालकै अग्रणी सहकारी संस्थाहरु मध्येमा पर्दछ । सदस्य संख्या तथा वित्तीय कारोबारको आँकडाले पनि यसको पुष्टि गरिरहेको छ । मेचीनगर नगरपालिका वडा नं. ६ मा मुख्य कार्यालय रहेको एनएमसीले झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । आफ्नै एटिएम बुथ राखेर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको एनएमसी कोशी प्रदेशमा नै एटिएम सुविधा दिने पहिलो सहकारी संस्था भएको बचत तथा ऋण व्यवसाय प्रमुख मनिष कोइराला दावी गर्नुहुन्छ ।
एनएमसीले डिजिटल कारोबारका लागि फोन पे, क्युआर मर्चेन्ट, एटीएम, ईसेवा, खल्तीजस्ता माध्यमबाट सदस्यलाई सुविधा दिइरहेको छ । सदस्यहरुसँगको आर्थिक कारोबार नगदसँगै डिजिटल माध्यमबाट पनि बढिरहेको कोइराला बताउनु हुन्छ ।
नेपालका सहकारी संस्थाहरुबाट हुने डिजिटल कारोबार रकमको आधारमा एनएमसीमा सबैभन्दा धेरै रकमको कारोबार हुन्छ भन्ने दावी गर्नुहुँदै आइटी विभाग प्रमुख आविस्कार बस्नेत भन्नुहुन्छ, गत पुस महिनामा मात्र १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । सफ्टवेयर भेण्डरले पनि सहकारीमध्ये एनएमसीको कारोबार धेरै भएको जनाएको उहाँको भनाई छ ।
सहकारी संस्थाहरुले बैंकले प्रवाह गरिरहेको धेरै प्लेटफर्महरु आफूमार्फत् पनि सदस्यलाई सुविधा उपलब्ध गराएका छन् । एनएमसीले अघिल्लो महिनादेखि डिजिटल कारोबारमा एउटा यस्तो सुविधा थप गरेको छ, जसले सहकारीमा वित्तीय कारोबार गर्नेहरुलाई झन् उत्साहित बनाएको महसुस गराउँछ ।
एनएमसीका एकाउन्ट डिपार्टमेन्ट हेड मनिषा तिम्सिना संस्थाका सबै सेवा केन्द्रहरुमा क्युआर टेलरको व्यवस्था गरिएको बताउनु हुन्छ । सुरुवाती चरणमा एक पटकमा २० हजार रुपैयाँसम्म झिक्न मिल्ने गरी सुरु गरिएको क्युआर टेलरमार्फत् बचतकर्तालाई रकम आवश्यक भएको अवस्थामा जुनसुकै बैंक तथा वित्तीय संस्थामा रहेको रकम एनएमसीबाट नै झिक्न पाउने एकाउन्ट डिपार्टमेन्ट हेड तिम्सिनाको भनाई छ ।
सहारा नेपाल साकोस
सामाजिक योगदान, सदस्य संख्या, कार्यक्षेत्र विस्तारित जिल्लाहरु एवम् वित्तीय कारोबार अंकको आधारमा देशकै ठूलो सहकारी संस्था झापामा सञ्चालित छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको पहिचान यसरी नै हुने गरेको छ । सहारा नेपालले आफ्ना सदस्यहरुलाई एटिएम, मोवाइल बैंकिङ, क्यूआर मर्चेन्टको सुविधा प्रदान गरेको छ ।
संस्थाका आईटी अफिसर बिकी शाक्यले उपलब्ध गराउनु भएको तथ्याङ्क अनुसार सहारा नेपालमा मोवाइल बैंकिङको सुविधा लिने सदस्यको संख्या १७ हजार ९३५ जना रहेको छ । चालू आर्थिक वर्षको चैत १६ गतेसम्म एटिएम कार्ड प्रयोगकर्ता सदस्यहरु २ हजार २८० जना र क्यूआर मर्चेन्टको सुविधा लिने सदस्यहरु ९६० जना रहेका तथ्याङ्क छ ।
एटिएम प्रयोगकर्ताहरुले चालू आर्थिक वर्षको चैत १६ गतेसम्म एक करोड ९२ लाख ८ हजार ४३० रुपैयाँ निकालेका छन् । मोवाइल बैंकिङ प्रयोगकर्ता सदस्यहरुले ९ करोड ५ लाख ९१ हजार ४६३ रुपैयाँ आईविएफटी गरेका छन् भने ईसेवा वालेटमार्फत २ करोड ७४ लाख १६ हजार ३६२ रुपैयाँ कारोबार भएको छ ।
मोवाइल टपअपमा पनि यो अवधिसम्म ३७ लाख ४७ हजार ७०१ रुपैयाँ कारोबार भएको संस्थाका आईटी अफिसर बिकी शाक्यले बताउनु भएको छ । सहारा नेपाल साकोसको स्थापना दिवसको अवसर पारेर यही चैत २१ गतेदेखि क्यास डिपोजिट मेसिन पनि सञ्चालनमा ल्याउने तयारी गरिएको शाक्यको भनाई छ ।
मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
कोशी प्रदेशका झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले पनि दुई वर्ष अघिदेखि डिजिटल कारोबारमा अग्रसरता देखाएको छ ।
२०७७ साल भदौ १२ गतेदेखि ‘स्मार्ट बैंकिङ’ सेवा सञ्चालन गरेको मेची सहकारीले हालसम्म दुई हजार २६८ जना सदस्यहरुमाझ यस्तो सेवा विस्तार गरेको छ । संस्थाका सहब्यवस्थापक चन्द्रप्रसाद थापाका अनुसार हिजो आज दैनिक २५ लाख रुपैयाँ हाराहारी कारोबार हुने गरेको छ ।
डिजिटल कारोबारको अर्को फड्कोस्वरुप मेची सहकारी संस्थाले २०७८ पौष १३ देखि क्युआरमर्चेन्ट सेवा सञ्चालन सुरु गरेको छ । क्युआर मर्चेन्टको सुविधा लिने सदस्य संख्या १७३ जना र दैनिक तीन लाख रुपैयाँ सहकारीमा जम्मा हुने गरेको सहब्यवस्थापक थापाले जनाउनु भयो । उहाँका अनुसार माछापुच्छ्रे बैंकसँगको साझेदारीमा मेची सहकारीले नयाँ वर्ष सुरु भए लगत्तै एससिटी नेटवर्कको एटिएम सेवा सुरु गर्न लागेको छ ।
सिम्रिक साकोस
कोशी प्रदेशका झापा, इलाम, मोरङ र पाँचथर चारवटा जिल्लालाई कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्था पनि डिजिटल कारोबारका लागि अग्रसर भइरहेको छ ।
सिम्रिक साकोसले गत वर्षको जेठबाट सदस्यहरुलाई मोवाइल बैंकिङ सुविधा दिइरहेको र हाल १८ सय हाराहारी सदस्यहरु यसको प्रयोगकर्ता रहेका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउनु हुन्छ ।
सिम्रिक साकोसमा डिजिटल कारोबार गर्ने सदस्यहरु र रकम पनि निरन्तर बढिरहेको आँकडा सुनाउँदै कार्यकारी प्रमुख बस्नेतले भन्नुभयो, ‘हामीले अहिले एटिएम र क्युआर मर्चेन्ट वितरण गरेका छैनौं । तर मोवाइल बैंकिङबाट चालू आर्थिक वर्षका हरेक दिन १५ लाख रुपैयाँ हाराहारी कारोबार भइरहेको छ ।’
प्रविधिसँगै चुनौति पनि थपिँदै जाँदा रहेछन् तर प्रविधिलाई आत्मसाथ नगर्दा संस्था पछि पर्ने हुन्छ भन्नुहुँदै कार्यकारी प्रमुख बस्नेतले राष्ट्रिय सहकारी बैंकले प्रवर्धन गर्न लागेको एटिएम सेवालाई सिम्रिकले आत्मसाथ गरी सदस्यहरुलाई सेवा प्रवाह गर्ने जमर्को गरिरहेको बताउनु हुन्छ ।
आर्थिक कारोबारका लागि सदस्यहरुले जति सहज सुविधा पाउँछन्, उत्ति नै कारोबार रकम बढ्नेछ भन्ने तथ्यलाई आत्मसाथ गर्न सकियो भने पक्कै पनि सहकारी संस्थाहरु बैंकभन्दा प्रिय बन्नेछन् । यसका लागि डिजिटल प्लेटफर्मको अधिकतम प्रयोग बढाउन संस्थाहरु अग्रसर हुनै पर्दछ, बस्नेतको भनाई छ ।
कर्णाली साकोस
कोशी प्रदेशका तीनवटा जिल्लाहरु झापा, इलाम र मोरङमा कार्यक्षेत्र रहेको एवम् लघुवित्त कारोबारमा उत्कृष्ट बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले पनि दुई वर्षदेखि डिजिटल कारोबार सञ्चालन गरिरहेको छ ।
कर्णाली साकोसले मोवाइल बैंकिङ सेवा र क्यूआर मर्चेन्ट सुविधा प्रदान गरिरहेको छ भने २०८० वैशाखभित्रै क्यूआर टेलरको सुविधा दिने तयारी रहेको संस्थाका आइटी अधिकृत विपुल गौतम बताउनु हुन्छ ।
डिजिटल कारोबार सुरु गरेको दुई वर्षको अविधिमा २५ सय हाराहारी सदस्यहरु मोवाइल बैंकिङको प्रयोगकर्ता रहेको जानकारी दिनुहुँदै संस्थाका आइटी अधिकृत विपुल गौतम चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्त सम्ममा कर्णाली स्मार्ट एपको माध्यमबाट करिब ८ करोड रुपैयाँ कारोबार भएको बताउनु हुन्छ ।
कर्णाली स्मार्ट एपमार्फत् डिजिटल कारोबार गरिरहेको संस्थाले प्रविधि अंगाल्न थालेपछि क्रमशः विकसित नयाँ प्रविधिहरु थप गर्दै लाने गरेको छ । नयाँ नयाँ प्रविधिलाई आत्मसाथ नगर्दा संस्था पछि पर्ने हुन्छ भन्नुहुँदै संस्थाका लेखा विभाग प्रमुख डिल्ली बस्नेत कर्णालीले क्युआर टेलर पनि ब्यवहारमा ल्याउने तयारी गरेको जानकारी दिनुहुन्छ ।
अन्य संस्थाहरुः
पूर्वमा सहकारी कारोबार ठूलो हुने जिल्ला झापा हो । यहाँ नेपालमै अग्रणी मानिएका ११ वटा सहकारी संस्थाहरु रहेको राष्ट्रिय सहकारी महासंघले प्रकाशन गरेको विवरणमा उल्लेख छ । झापाका सबैजसो सहकारी संस्थाहरु प्रविधिलाई अंगाल्न अग्रसर छन् । हालसम्म एटिएम सुविधा दिने संस्था दुईवटा छन् भने मोवाइल बैंकिङ सुविधा दर्जनौं संस्थाले प्रदान गरिरहेका छन् । क्युआर मर्चेन्ट कोड वितरण पनि क्रमशः बढिरहेको संस्थाले जनाएका छन् । तर सहकारी विभाग, प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, जिल्ला तथा प्रदेश सहकारी संघ, पालिका सरकार कुनै पनि निकायसँग यसको तथ्याङ्क छैन ।
सहकारी ऐन २०७४ जारी भएपछि एउटा पालिकामात्र कार्यक्षेत्र बनाएर सञ्चालित सहकारीहरुको नियमन पालिका सरकारले गर्ने गरेको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालसँग पनि यसबारे आधिकारिक तथ्याङ्क छैन । ‘सहकारी विभागले कार्यान्वयनमा ल्याएको कोपोमिसमा अपलोड गरिएको अवस्थामा मात्र सो बारे जानकारी हुने भएकाले हालसम्म यस्तो तथ्याङ्क पालिकासँग नरहेको’ सहकारी अधिकृत दाहालको भनाई छ ।
सहकारी पसलको सफल सञ्चालनबाट चिनिएको बिर्तामोडस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाका आइटी विभाग प्रमुख उमेश चौहान पछिल्लो समय क्यासलेस कारोबार गर्न अग्रसर रहेको बताउनु हुन्छ । सतासी सहकारीमा मासिक ५० लाख रुपैयाँ हाराहारी रकम डिजिटल कारोबार हुने गरेको उहाँको भनाई छ ।
यो आलेखमा समावेश गर्नका लागि दर्जनौं संस्थाहरुसँग डिजिटल कारोबारको विवरण माग गरिए पनि उपलब्ध भएन ।