झापा । नेपाल अलैंची व्यवसायी महासंघको टोली दुबई प्रस्थान गरेको छ । फेब्रुअरी २० देखि २४ तारिखसम्म हुने गल्फ फुड एक्जिविशनमा सहभागी हुन अलैंची व्यवसायीहरु दुबई उडेका हुन् ।
महासंघको केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा व्यसायीहरुको टोली आज आईतबार युएइ प्रस्थान गरेको जनाइएको छ ।
नेपाल सरकार व्यापार तथा निकासी प्रबर्धन केन्द्रको सहजीकरणमा हुन गइरहेको मेलामा नेपाली कृषिजन्य बस्तु अलैंची, चिया, अदुवा लगायतको स्टल रहने महासंघले जनाएको छ ।
बिगत केही वर्षदेखि नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउन र व्यापार बिस्तारमा समेत ठूलो टेवा पुग्ने अपेक्षासहित महासंघको टोली युएइ गएको महासंघका अध्यक्ष भट्टराईले जानकारी दिए ।
नेपाली अलैंचीको मुख्य बजार दुवई भएकाले आफ्नो पहिचान स्थापित हुनेमा आफूहरु आशावादी रहेको पनि उनले बताए ।
टोलीमा अध्यक्ष भट्टराईसहित महासंघका सल्लाहकार भरत चौधरी, महासंघको कार्यसमिति सदस्य तथा व्यवसायीहरु सञ्जिव घिमिरे र बिरोध सुवेदी सहभागी रहेको महासंघका कार्यालय प्रमुख अनिल ढुङगानाले जानकारी दिए ।