बिर्तामोड । चोक तथा बजारमा रहेका चिया पसलमा चिया पिउँदा तपाईले कति रुपैयाँ तिनु हुन्छ । न्यूनतम १० रुपैयाँदेखि अधिकतम ३० वा सो भन्दा माथि एक कप चियाको मूल्य हामीले तिर्दै आएका छौं ।
तर, बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा व्यवसायीले एक रुपैयाँमा एक कप चिया बिक्री गरिरहेका छन् । ‘रंग छिटो खाँदा मिठो’ भन्ने नारासहित अर्जुनधारा– ६ मा रहेको सीता चिया तथा घरेलु मसला उद्योगले एक रुपैयाँ मै मेजमान नामक चिया बिक्री गरिरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका २ स्थित प्रभुराम चोकमा हिजोदेखि शुरु भएको महोत्सवमा आउने अवलोकनकर्तालाई एक रुपैयाँमा नै चिया उपलब्ध गराएर महोत्सवलाई थप आकर्षक बनाउने प्रयत्न गरिएको हो ।
नेपालको चिया विश्व सामु चिनाउने उद्देश्यले व्यवसायीद्वय चक्र कार्की र नरेश सापकोटाले चिया उपलब्ध गराएका हुन् । सीता चिया तथा घरेलु मसला उद्योगले अग्र्यानिक र विना मिसावटको शुद्ध चिया उपलब्ध गराउने बताइन्छ ।
बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आउने अवलोकनकर्तालाई मेजमान स्वरुप चिया उपलब्ध गराएर झापा र इलामको चियालाई प्रर्वद्धन गरिरहेको व्यवसायीयको भनाई छ ।
महोत्सवमा छुट्टै स्टल राखेर कार्कीले एक रुपैयाँमा चिया बिक्री गर्दै आफ्नो चियाका उत्पादनसमेत बिक्री गरिरहेका छन् । आफूले उत्पादन गरेको चिया खरिद गरे कसैलाई पनि खाली हात नपठाउने नीति लिएका व्यवसायी कार्कीले चिया खरिदकर्तालाई कुनै न कुनै आकर्षक उपहार प्रदान गर्ने गरेका छन् ।