भद्रपुर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले भद्रपुर नगरपालिका वडा नं. ६ बंगालीबस्तीको एक परिवाराई खाद्यान्न हस्तान्तरण गरेको छ ।
प्रदेश १ सरकारका पूर्व सहकारी मन्त्री ओमप्रकाश सरावगी र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको समुपस्थितिमा बुधबार बिहान विशेष कार्यक्रमको आयोजना गरी दुवै मिर्गौला खराब भएर उपचार गरिरहेका गोपालचन्द्र मण्डलको परिवारलाई कर्णाली साकोसले खाद्यान्न सहयोग गरेको हो ।
मिर्गौलाको उपचारका क्रममा उनको परिवारले सबै जेथो बेचिसकेको र अहिले घरमा खाने अन्न पनि नभएको जानकारी पाएपछि गंगाामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाको सहजीकरणमा मण्डल परिवारलाई राहत प्रदान गरिएको कर्णाली साकोसका सचिव भूपाल बस्नेतले जानकारी दिए । संस्थाले मण्डल परिवारलाई राहतस्वरुप खाद्यान्न प्रदान गरेको उनको भनाई छ ।
दुःख पीडामा परेको सो परिवारमा ९६ वर्षका बुवा, ८६ वर्षीया आमा र दुईजना छोराछोरी छन् । मण्डल विगत १६ वर्षदेखि एकल जीवन बिताउँदै आएका छन् । उनी लुगा सिएर परिवार पाल्ने गर्दथे । मण्डलको दुवै मिर्गौला काम नगर्ने भएपछि अहिले उपचार गर्ने र परिवार पाल्ने दुवै भार परेको छ । कमाउने मान्छेको यो हालत भएपछि परिवारको अवस्था दयनीय बनेको स्थानीय बासिन्दा बताउँछन् ।