झापा । नेपाली कांग्रेस झापाले ६ महिने कार्यतालिका बनाएर जिल्लाका १३१ वटै वडामा प्रतिनिधिहरु खटाएको छ । सभापति देउकुमार थेवेको सभापतित्वमा आज बसेको बैठकले जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि र जिल्ला पदाधिकारीहरुलाई वडा र क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
खटिएका प्रतिनिधिहरुले वडा, गाउँ नगर, प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रको सम्मेलन गराउने, वार्षिक क्यालेन्डर अनुसार प्रशिक्षण, अभिमुखीकरण कार्यक्रमहरु सबै वडा र १ हजार १३१ टोल समितिमा सञ्चालन गर्नु गराउनु पर्ने नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिएका छन् ।
पार्टीका सबै तह र संरचनाहरुमा रक्तदान, वृक्षारोपण, विचार गोष्ठी, सरसफाई, जनचेतनामूलक र विकाससँग सम्बन्धी जनसेवाका कार्यक्रमहरु कांग्रेसले सञ्चालन गर्ने भएको छ ।
बैठकले जिल्लाको पार्टी संरचनाहरुको नियमित बैठकको नियमित मिति तय गरेको छ । जस अनुसर जिल्ला कार्यसमितिको बैठक प्रत्येक महिनाको २ गते, क्षेत्रीय कार्य समितिको बैठक ५ गते, प्रदेशसभा क्षेत्रीय कार्यसमितिको बैठक ७ गते, गाउँ नगर कार्य समितिको वैठक ११ गते हुनेछन् ।