२०८१ पौष २७, शनिवार , ०५:३१:४७ बजे

Sajhamanch
'

एनएमसीको आयोजनामा आँखाको निःशुल्क जाँच र शल्यक्रिया

बिहिवार, माघ १९, २०७९

मेचीनगर । झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको देशकै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आँखाका बिरामीका लागि नयाँ अभियानको सुरुवात गरेको छ ।

काँकरभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा संस्थाले आफ्ना सदस्य तथा गैर सदस्यका लागि माघ १४ गते शिवगञ्जमा आँखा शिवीर सञ्चालन गरेको हो । उक्त शिविरमा ३७० जना आँखाका बिरामीले निःशुल्क आँखा जाँच गराएका थिए । जसमध्ये मोतियाबिन्दुको शल्यक्रियाका लागि ६६ जना र आँखा सम्बन्धी अन्य समस्याका २६ जना बिरामीको पहिचान भएको थियो ।

काँकरभिट्टा आईकेयर सेन्टरका व्यवस्थापक योगेन्द्रजीत शाहीका अनुसार निःशुल्क आँखा शिवीरबाट पहिचान भएका बिरामीमध्ये बुधबार २५ जना र बिहीबार ११ जनाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । मोतियाबिन्दूको शल्यक्रिया गर्न बाँकी रहेका बिमारीहरुको शल्यक्रिया क्रमशः गरिने उनको भनाई छ ।

एनएमसीको स्वास्थ्य उपसमितिले विगत वर्षहरूमा समेत आँखाका बिरामीका लागि यसप्रकारको शिविर र शल्यक्रियाको व्यवस्था मिलाउँदै आएको थियो । ‘विगतमा सकारात्मक प्रतिक्रिया रहेको संस्थाको अभियानलाई कोभिड अवधिमा भने स्थगित गर्नुपरेको थियो, अहिले आएर संस्थाले यो अभियानलाई एकपटक फेरि सुरु गरेको छ’ उपसमिति संयोजक दिलिप सुवेदीले भनेका छन् ।

शिविरमा मोतियाबिन्दुको समस्या पहिचान भई बिहीबार काँकरभिट्टा आई केयर सेन्टरमा निःशुल्क शल्यक्रिया गर्न आइपुगेका एक बिमारीले हर्षका आँशु खसाल्दै एनएमसी तथा आँखा अस्पताललाई धन्यवाद दिए । ‘अस्पतालमा रुपैंयाँ तिर्नु परेको भए ८–१० हजार खर्च हुनेरैछ, आफू गरिब अन्धो भएर मरिन्छ भन्ने लागेको थियो, एनएमसीले संसार देख्न मद्दत गर्यो’ उनले भने ।

आर्थिक वर्ष २०७९/८० मा एनएमसीले आँखा शिविर गरेको यो पहिलो पटक हो । यस आर्थिक वर्षमा एनएमसी र काँकरभिट्टा आई केयर सेन्टरको संयुक्त अभियानमा झापाको विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सम्पन्न गरी मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने संस्थाको अभियान रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर