२०८१ पौष ८, सोमवार , १०:५८:४५ बजे

Sajhamanch
'

प्रदेश १ को मुख्य न्यायाधिवक्ता आचार्य नियुक्त

बुधवार, माघ ११, २०७९

झापा। झापाका कानुन व्यवसायी गजेन्द्र आचार्य प्रदेश १ सरकारको मुख्य न्यायाधीवक्तामा नियुक्त भएका छन् । वरिष्ठ अधिवक्ता आचार्यलाई प्रदेश सरकारले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो ।

लामो समयदेखि वकालती पेशामा रहेका आचार्य नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष पनि छन् । एमाले निकट कानुन व्यवसायी आचार्य मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधीवक्ता नियुक्त भएका हुन् ।मंगलवार मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधीवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधीवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारको कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधीवक्ताले काम गर्नुपर्छ ।

मुख्य न्यायाधीवक्ताले उच्च अदालतका न्यायाधीश सरह मर्यादा र सुविधा पाउने व्यवस्था छ । आचार्य झापा वारका पूर्व अध्यक्ष पनि हुन् । उनी २०७१ मा नेपाल वार एसोसिएसन झापाको अध्यक्ष भएका थिए ।

२०२३ सालमा इलामको शान्ति डाँडामा जन्मिएका आचार्यले ३० वर्षदेखि झापाको चन्द्रगढीमा बसेर कनकाई कानुनी सेवा नामको ल फर्म सञ्चालन गर्दै आएका छन् ।

आचार्यकी धर्मपत्नी हेमकला कट्टेल पनि लामो समयदेखि वकालती पेशामा संलग्न छिन् । न्यायको पहुँचमा पुग्न नसक्नेहरूका लागि निरन्तर वकालत गर्ने, महिला सशक्तीकरणका विषयमा आवाज उठाउने र कानुनी परामर्श दिने सवालमा कट्टेलको सक्रियता छ ।

२०४८ सालमा कानुन व्यवसायीको लाइसेन्स लिएपछि ४९ सालदेखि आचार्यले झापा जिल्ला अदालतमा बहस सुरु गरेका थिए । उनी कुशल ट्रेनरका रुपमा पनि परिचित छन् । कानुनी सचेतनाको कार्यक्रममा उनको बाक्लो उपस्थिति रहँदै आएको छ ।

हिमाली मावि दमकबाट एसएलसी गरेका आचार्यले राजविराजबाट आइएल पास गरेका थिए । उनले नेपाल ल क्याम्पस काठमाडौँबाट बीएलको अध्ययन पूरा गरेका हुन् । राजनीतिक शास्त्रमा स्नातकोत्तर आचार्यले २०७४ सालमा वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरेका थिए ।