२०८१ भदौ ३१, सोमवार , ०५:५०:०५ बजे

Sajhamanch
'

नवोदय सहकारीले सुरु गर्यो सुरुङ्गामा सेवा केन्द्र

बुधवार, माघ ४, २०७९

कनकाई । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बुधबारदेखि सुरुङ्गामा सेवाकेन्द्र सञ्चालन गरेको छ ।

कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरिदिएका हुन् । सो अवसरमा मन्तब्य राख्दै वडाध्यक्ष चम्लागाईंले कानूनतः एक व्यक्ति एउटा मात्र सहकारीको सदस्य हुनुपर्ने हो तर मानिसहरु धेरैवटा सहकारीको सदस्य हुने र सबै सहकारीबाट कर्जा लिएर नतिर्ने गरेका कारण सहकारीहरु समस्यामा पर्ने गरेको बताए ।

कार्यक्रमका अर्का वक्ता कनकाई ४ का पूर्व वडाध्यक्ष गोविन्द पौडेलले सहकारीले सदस्यलाई कर्जा लगानी गर्ने तर लगानी भएको रकम सदस्यले सही रुपमा उपयोग गरे नगरेको अनुगमन नभएकाले अहिले धेरैजसो सहकारीको कर्जा जोखिममा पर्ने गरेको बताए छ ।

यसैगरी, कनकाई नगरपालिका सहकारी समन्वय समितिका संयोजक कुमारमणि पोखरेलले आर्थिक मन्दिका कारण अहिले सबै क्षेत्रमा समस्या रहेको अवगत गराउँदै यस्तो अवस्थामा सदस्यलाई सहकारीले मात्र राहत दिइरहेको बताए । बैंकलाई तिरेको चर्को ब्याजको प्रतिफल बैंक सञ्चालकले मात्र पाउँछन् तर सहकारीमा तपाई हामीले तिरेको ब्याजको प्रतिफल आफैंले पाउने भएकोले सबैले सहकारीमार्फत आफ्नो कारोबार गर्नुपर्नेमा उनको जोड थियो ।

सो कार्यक्रममा सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले नवोदयको वित्तीय अवस्थितिबारे चर्चा गरेका थिए । सेवाकेन्द्र सञ्चालक समितिका संयोजक गोमादेवी कार्कीको अध्यक्षतामा भएको सेवाकेन्द्र उद्घाटन कार्यक्रमको सञ्चालन तिलक गजमेरले गरेका थिए ।

सम्बन्धित खबर