२०८१ असोज ४, शुक्रवार , ०६:०३:५७ बजे

Sajhamanch
'

आवद्ध साकोसको साधारणसभा सम्पन्न, खुद नाफा एक करोड रुपैयाँ हाराहारी

मङ्गलवार, पौष १२, २०७९

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ९८ लाख ४९ हजार ५३१ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको सोमबार सम्पन्न १०औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

साधारणसभा समारोहमा संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश)ले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ हजार ९४ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ करोड ५४ लाख ७० हजार ४०० रुपैयाँ रहेको जानकारी दिए ।

अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको जगेडा कोषमा १ करोड ५ लाख १ हजार ३७७, योगदानमा आधारित अन्य कोषहरु १ करोड ३९ लाख ९६ हजार ३१० गरी कुल ३ करोड ३० लाख ७१ हजार २७० रुपैयाँको कोष बनाइएको छ ।

बचतमा रहेको रकम १० करोड ४९ लाख ८९ हजार ८१५, ऋण लगानी २० करोड ६ लाख ७१ हजार ३५९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष भट्टराईको अध्यक्षता तथा सतासी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडका अध्यक्ष रुद्रमणि श्रेष्ठको प्रमुख आतिथ्यमा भएको साधारणसभा उद्घाटन समारोहमा उत्कृष्ट कर्मचारीसहित अन्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा ब्यवस्थापक पर्वतराज चिमरिया र बजार प्रतिनिधि विक्रम निरौला र वर्ष उत्कृष्ट सञ्चालक समिति सदस्य नरेन्द्र न्यौपाने खत्रीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, बाल बचतकर्ता रिवाज वाग्ले, भेषराज रिजाल, मासिक बचतकर्ता देबकुमारी चौधरी, अनिवार्य ५ वर्षे बचतकर्ता तुलसा खनाल, पेन्सन बचतकर्ता रामचन्द्र सापकोटा, जानकीप्रसाद भट्टराईलाई प्रशंसापत्र प्रदान गरियो ।

आवद्ध विशेष बचतकर्ता कल्पना खनाल, बिमल श्रेष्ठ, साधारण बचतकर्ता तुलसीराम खनाल, आवधिक कर्ता गणेश उर्मकार, महमद अरमान, ब्यक्तिगत तर्फ देवीमाया सुनुवारलाई मायाको चिनो, खादा तथा प्रशंसापत्र प्रदान गरिएको हो ।

नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा संस्थाका सल्लाहकार निर्मल भट्टराई, न्यूटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल दशरथ हुमागाई (देवेन्द्र), नेपाल महिला उद्यमशील संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली लगायतले साधारणसभामा मन्तव्य राखेका थिए ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन संस्थाका सचिव खगेन्द्र कुँवरले प्रस्तुत गरेका थिए । संस्थाका सञ्चालक समिति सदस्य खड्ग बिष्टले स्वागत तथा संस्थाका कोषाध्यक्ष शान्ता विष्टले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका ब्यवस्थापक पर्वतराज चिमरियाले गरेका थिए ।

सम्बन्धित खबर