२०८१ पौष २३, मङ्गलवार , ०५:२३:२३ बजे

Sajhamanch
'

साना किसान कृषि सहकारीमा नयाँ नेतृत्व

मङ्गलवार, पौष ५, २०७९

भद्रपुर । भद्रपुर १० स्थित साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । चन्द्रगढीमा सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौला चयन भएकी छन् भने सदस्यहरूमा यसोदा निरौला, निर्मला दंगाल, मिना कोइराला, पवित्रादेवी बराल, बिनादेवी प्याकुरेल र सावित्रा दाहाल निर्विरोध चयन भएका छन् । संस्थाका अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा आज साधारण सभा सम्पन्न भएको हो ।

उद्घाटन समारोहमा नेफ्स्कुनका केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारी, भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, भद्रपुर नगरपालिकाका सहकारी अधिकृत डिल्ली ढकाल लगायतले कृषि उत्थान र स्वरोजगारका लागि सहकारी अपरिहार्य रहेको धारणा राखेका थिए ।

उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौलाले स्वागत गरेको कार्यक्रममा ज्येष्ठ सदस्य सम्मानबाट केशकुमारी पोखरेल, उत्कृष्ट ऋण कारोबारीमा मिश्राकुमारी गौतम, उत्कृष्ट बाल बचत सम्मानबाट मन्दिप गुरागाई र विनुजा पौडेल तथा उत्कृष्ट अन्तर समूहबाट समूह नम्बर ५ लाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

निर्मला दंगालले शाब्दिक स्वागत गरेको सो कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक प्रगति विवरणसहित चालू वर्षका लागि नीति कार्यक्रम पेश गरेकी थिइन् ।

सम्बन्धित खबर