बिर्तामोड । झापाको बिर्तामोडमा पर्ने सैनिकमोडदेखि हल्दिबारीको गोलधाप बजार जाने सडक खण्डमा भइरहेको कालोपत्रे निमार्णका क्रममा देखिएको विवाद छलफल पछि समाधान भएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सैनिकमोड चौकमा रहेको राजेश राजवंशीको घरमा जोडिएको लाछी सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएपछि जग्गा धनी र सरोकारवालाहरु विच विवाद भएको थियो ।
आज बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर १० का वडाअध्यक्ष दूर्योधन गुरुङ्ग ,स्थानीय टोल विकास संस्थाका पदाधिकारी लगायतको उपस्थितिमा सहमति भएको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार जग्गाधनी राजवंशीले सडक मापदण्ड अनुसार आफ्नो घरमा जोडिएको लाछी भत्काउने र सडकलाई ६० मिटर बनाउन सहयोग गर्ने सहमति जनाए पछि विवाद अन्त्य भएको हो । अब भोलिबाटै ड्रेन निर्माणको काम अघि बढ्ने नगर उपप्रमुख संग्रौलाले जानकारी दिएका छन् ।
बिर्तामोड नगरपालिकाले आज ९शनिबार० ११ बजेसम्ममा लाछी भत्काउन अनुरोध गर्दै राजवंशीलाई पत्र पठाएको थियो । पटक पटक मौखिक जानकारी गराउँदासमेत राजवंशीले अटेर गरेपछि नगरपालिकाले शुक्रबार पत्र पठाएको हो । सहमति भएपछि आज नै स्काभेटर प्रयोग गरेर सडकलाई ६० मिटर चौडाई बनाउने काम भएको छ ।
शहरी विकास मन्त्रालयको बजेटमा सैनिकमोड–गोलधाप सडक खण्डमा कालोपत्रेका लागि प्राथमिक चरणको काम धमाधम भइरहेको छ । सैनिक बजारसम्म ४ हजार २०० मिटर सडकको कालो पत्रे निर्माणका लागि खनाल शान्ति जेभीले ४ करोड रुपैयाँमा ठेक्का लिएको हो ।
आगामी असार मसान्तसम्ममा सो सडक निर्माण सम्पन्न हुने ठेकेदार कम्पनीका अनिल भट्टराईले जानकारी दिएका छन् ।