२०८१ असोज २, बुधवार , ०३:४३:५२ बजे

Sajhamanch
'

उपेक्षित तथा उष्णप्रदेशीय रोग भएका व्यक्तिको स्वास्थ्य सुधार गर्दै विश्वास परियोजना

शनिवार, मंसिर २४, २०७९

बिर्तामोड । झापा र मोरङमा उपेक्षित तथा उष्णप्रदेशीय रोग मातृशिशु स्याहार र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुधार गर्न सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै आएको छ । परियोजना अन्तरगत नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशिक १० वटा रोगबाट समुदायको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम गरिँदै आएको हो ।

सहारा नेपालको आयोजना र फेयरमेड फाउण्डेशनको सहयोगमा चारपानेस्थित सहारा नेपालको केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग अन्तक्रिया गर्दै कार्यक्रमका विषयमा जानकारी गराइएको हो । सहारा नेपाल र फेयरमेडले एक वर्ष अघिदेखि साझेदारी गरेर कार्य गर्दै आएको अन्तरक्रिया कार्यक्रममा जनाइएको छ ।

सहारा नेपाल र फेयरमेड फाउण्डेशनको साझेदारीमा मोरङ र झापाका १७ वटा पालिकामा उपेक्षित उष्णप्रदेशिक १० वटा रोग प्रदेश १ का लक्षित नगरपालिका र गाउँपालिकामा कसैलाई पछि नछोडी समुदायको स्वास्थ्यमा सुधार गरिने सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । गिरीका अनुसार कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेङ्गु र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो, फित्ते जुका र खस्रेरोगबाट लक्षित बर्गलाई उपेक्षित उष्णप्रदेशीय रोग, मातृशिशु स्वास्थ्य, अपाङ्गता र उपेक्षाका बारेमा जनचेतना जगाइनेछ ।

झापाका १५ पालिकामध्ये कचनाकवल, झापा, बाह्रदशी, हल्दिबारी, गौरीगञ्ज गाउँपालिका, भद्रपुर, बिर्तामोड, कनकाई, गौरादह र मेचीनगर गरेर १० वटा पालिकामा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका फोकल पर्सन मात्रिका सुवेदीले जानकारी दिए ।

स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सम्बन्धित निकायको ब्यवस्थापकीय क्षमता सुद्धिकरण गरी एकीकृत, समतामुलक र पारदर्शी स्वास्थ्य सेवा बिस्तार, सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने र समुदायका ब्यक्तिहरुको क्षमताबृद्धि गरी स्वास्थ्य सेवामा पहुँच बढाउने उदेश्यका झापा र मोरङका १७ वटा पालिकामा कार्यक्रम सञ्चालन गरिएको फेयरमेड फाउण्डेशनका अनुगमन तथा कार्यक्रम बिशेषज्ञ बेदप्रकाश शर्माले जानकारी दिए ।

उपेक्षित उष्णप्रदेशीय रोग विशेषगरी गरिबीको रेखामुनी रहेका मानिसहरुमा बढी पाइने विश्वास परियोजनाका संयोजक पवनकुमार राईले बताए । झापा, मोरङ र सुनसरीमा सञ्चालित चार वर्षे विश्वास परियोजनाले सबै रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्याउने लक्ष्य लिइएको छ ।

कार्यक्रम सहारा नेपालका अध्यक्ष भरतकुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले आ–आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित खबर