२०८१ पौष २४, बुधवार , ०१:४३:२४ बजे

Sajhamanch
'

सर्लाहीमा रात्रिबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, १३ जना घाइते

आइतवार, माघ १६, २०७८

सर्लाही, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राति रात्रिबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रिबस शनिबार राति ९ बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलस्थित राजमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ । मोटरसाइकलका चालक घारिबथानकै २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् ।

खड्कालाई लालबन्दीमा उपचार हुन नसकेपछि वीरगञ्ज रेफर गरिएको प्रहरी निरीक्षक ढुङ्गानाले बताए । ढुङ्गानाका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि बस समेत पल्टिएको थियो ।

दुर्घटनामा बसमा सवार ४० जना यात्रुमध्ये १२ जना घाइते भएका छन् । घाइते सात जना उपचार पश्चात डिस्चार्ज भइसकेका, चार जनाको लालबन्दीमै उपचार चलिरहेको र एक जनालाई थप उपचारका लागि सिरहातर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बसका चालक फरार भएका छन् । बसधनीले चालकलाई सम्पर्कमा ल्याउने बताएका प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए । प्रहरीले दुर्घटनामा परेको बस घटनास्थलबाट उठाएर शनिबार राति २ बजे बयलवासस्थित इलाका प्रहरी कार्यालय केशरगञ्ज लगेको छ ।

 

सम्बन्धित खबर