काठमाडौं, पाँच दलको सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा लगायत आगामी आवधिक एवम् स्थानीय तहको निर्वाचनबारे छलफल हुने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचन सम्बन्धि ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्ध्नले कानूनविद्हरुसँग पनि परामर्श गर्दै आएको छ ।
संविधानसँग बाझिने ऐन अमान्य हुने भन्दै सो बमोजिम कानून निर्माण गर्नुपर्नेमा गठबन्धनका दलहरुबीच छलफल हुदै आएको छ ।
बैठकमा यी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुदैछ । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको जनाइएको छ ।