झापा । कोभिड १९ को सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगको निर्देशित मापदण्डमा आधारित जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन नेटवर्क झापामा पनि गठन भएको छ ।
आयोगको निर्णय अनुसार नेटवर्कमा झापा बार एसोसिएशनका अध्यक्ष वरिष्ठ अभिवक्ता लेखनाथ निरौलाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, एजिओ फेडरेसन झापाका अध्यक्ष हरि गौतम, मानव अधिकारकर्मी विष्णु खरेल र पबित्रा श्रेष्ठ सदस्य रहेका छन् ।
झापामा गठन भएको जिल्ला नेटवर्कले दैनिक भिडियो सम्वाद गरी मानव अधिकारको अवस्थामा सम्बन्धमा छलफल गर्ने गरिएको संयोजक लेखनाथ निरौलाले बताए । आयोगले पठाएको निर्देशिका अनुसार झापाका स्थानीय सरकारले गरेको राहत वितरण, सुरक्षाकर्मीले गरेका काम कारवाही, कोरोना संक्रमण नियन्त्रणका लागि भएको कार्यको अनुगमन तथा अभिलेख राख्ने काम भएको संयोजक निरौलाले बताए ।
जिल्ला नेटवर्कले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई भेटेर मानव अधिकारका उल्लंघनका घटना तथा कोरोना नियन्त्रण सम्बन्धी भएका कामका विषयमा छलफल गरेको छ । नेटवर्कले जिल्लाका संवेदनशील क्षेत्रको अनुगमन गर्ने भएको छ ।