शिवसताक्षी । झापा शिवसताक्षीको क्वारेन्टाइनमा बसेका सम्भावित कोरोना संक्रमिणहरुको र्यापिड टेस्ट गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले गरेको टेस्टमा सबैको रिपोट नेगेटिभ देखिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
क्वारन्टाइनमा हालसम्म बसेका १५ जनालाई कोरोनाको र्यापिड टेस्ट गरिएको वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबै जनाको रिपोट नेगेटिभ आएको छ । १५ जना मध्ये आज तीन हप्ता पुरा गरेका ७ जनालाई जनस्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीले कोरोनाको टेस्ट गरेपछि घर पठाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गएको हप्ता घर पठाइएका सबैलाई बोलाएर कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
मेची नगरपालिकाको क्वारेन्टाइनमा बसेका शिवसताक्षी ९ निवासी एक युवालाई शिवसताक्षीको क्वारेन्टाइनमा ल्याएको छ । अव शिवसताक्षीमा क्वारेन्टाइनमा बस्नेको संख्या ४ रहेको छ ।
जिल्ला जन स्वास्थ्य कार्यालय झापाले कोरोना परीक्षणका लागि ४० थान किट उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले बताए । भोलीबाट विदेश गई फर्केका होम क्वारेन्टाइन दुई हप्ता पुरा गरेकालाई नगरका स्वास्थ्यकर्मीले परीक्षण गर्ने नगरपालिकाले जनाएको छ ।