बुद्धशान्ति । यहाँस्थित बर्ने चिया कमानका श्रमिकहरुले लकडाउन भएको २१औं दिनका दिन राहतस्वरुप खाद्यान्न पाएका छन् ।
बुद्धशान्ति गाउँपालिकाले उनीहरुलाई आज खाद्यान्न उपलब्ध गराएको हो । कमानमा चिया टिप्ने २९५ परिवारका एक हजार १९१ जनालाई खाद्यान्न उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।
कमानमा दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई प्रति सदस्य ५ केजी चामल, प्रतिपरिवार २ केजी दाल, एक लिटर खानेतेल, एक केजी नून र हात धुने साबुन उपलब्ध गराएको उपाध्यक्ष मिरा भूर्तेलले जानकारी दिइन् ।
कमानमा दैनिक चिया टिप्ने श्रमिकहरु लकडाउनका कारण काम नभएपछि पेट पाल्न समस्यामा छन् । आम्दानीको अन्य स्रोत नभएपछि उनीहरुको दैनिकी दयनीय बन्दै गएको छ । वर्ने चिया कमानमा काम गर्ने अधिकांश श्रमिक अतिविपन्न वर्गका छन् ।