धरान । कोरोना भाइरसका कारण एक भारतीय चिकित्सकको निधन भएको छ ।
कोरोनाका कारण भारतमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । भारत मध्यप्रदेशको इन्दौरका डा. शत्रुध्न पञ्जवानीको बिहीबार निधन भएको भारतीय मिडियाहरूले पुष्टि गरेका छन् । ६२ वर्षीय जनरल फिजिसियन पञ्जवानी कोरोनाका संक्रमितको उपचार भने खटिएका थिएनन् । जहाँ उनी बस्थे त्यो क्षेत्रमा अधिकांस गरिबहरूको बस्ती रहेको थियो । उनका परिवार स्रोतका अनुसार उनी उच्च रक्तचाप र मधुमेहका रोगी थिए ।
स्मरणीय चाहिँ के भने मध्यप्रदेशको इन्दौर क्षेत्र कोरोनाभाइरसको ‘हटस्पट’ को रूपमा परिचित रहेको छ । जहाँ कोरोनाकै कारण १ सय ७० जनाको ज्यान गइसकेको छ । उनको मृत्युको कारण कोरोना संक्रमितको उपचारमा खटिँदा लापरबाही गरेको हुनसक्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म उक्त कुरा भने पुष्टि भएको छैन । मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीटमा उनको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्दै कोरोनाबाट सुरक्षित हुनका लागि आग्रह गरे ।
मुख्यमन्त्री चौहानले कोरोनाबाट मृत्यु भएको विषयमा कसैले पनि गलत तरिकाले अफवाह नफैलाउनका लागि अनुरोध गरेका छन् । उनले कुनै असामाजिक तत्त्वले अफवाह फैलाइरहेको आरोप लगाए । उनलाई इन्दौरको श्री अरबिन्दो हस्पिटलमा चार दिन पहिला भर्ना गरिएको थियो । अस्पतालमा परीक्षणको क्रममा उनलाई कोरोना भएको पुष्टि भएको थियो । डा. पञ्जवानीको पत्नी र तीन छोरो भने अष्ट्रेलियामा बस्दै आइरहेका थिए । उनका निकटतम मित्र डा. डी नटवरका अनुसार डा. पञ्जवानीले गरिब बस्तीका बिरामीहरूलाई अधिकांस समय उपचारमा संलग्न रहने गरेका थिए ।
भारतमा हालसम्म १९९ जनाले काेराेनाबाट ज्यान गुमाइसकेका छन् भने ६६५३ जनामा काेराेनाबाट संक्रमित बनेका छन् ।