२०८१ मंसिर २७, बिहिवार , ०९:४४:३८ बजे

Sajhamanch
'

मनिल तामाङ १२औं स्मृति दिवस मनाइयो

बिहिवार, चैत ६, २०७६

भद्रपुर । वि.सं. २०६५ साल चैत्र ६ गते स्ववियू निर्वाचनलाई रोक्ने क्रममा धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि शहीद भएका मनिल तामाङको सम्झनामा आज पृथ्वीनगरमा कार्यक्रम गरिएको छ । त्रिभुवन विश्व विद्यालयद्वारा विद्यार्थी हकहितको निमित्त गर्ने स्ववियू निर्वाचन समानुपातिक पद्दतीबाट गरिनुपर्छ भनेर आन्दोलन गर्ने क्रममा उनको प्रहरीको गोलीबाट मृत्यु भएको थियो ।

शहीद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानले पृथ्वीनगर ४ हाल भद्रपुर ३ को देउनिया खोला किनारमा अवस्थित शहिद मनिल तामाङको समाधिस्थलमा कार्यक्रम गरी तामाङको १२औं स्मृति दिवस मनाइएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा संघीय लिम्बुवान मञ्च नेपालका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ्ले सो कार्यक्रममा शहीद मनिल तामाङको शहादतले लिम्बुवान र पहिचान आन्दोलनले उच्च मूल्याङ्कन गरेको जिकिर गरे । अब चाँडै नै धुलाबारी क्याम्पस प्राङ्गणमा मनिलको शालिक निर्माण गर्न पहल गर्ने उनले बताएका छन् ।

कार्यक्रमका अर्का वक्ता लिम्बुवानका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले शहीद मनिललाई लिम्बुवान आन्दोलनले कहिल्यै भूल्न नहुने बताए । पहिचान र संघीयता प्राप्ति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न आन्दोलनरत लिम्बुवान मञ्चकै व्यस्तताको कारण समयमा नै शहीदको शालिक निर्माण गर्न नसकिएको स्पष्ट पारे ।

कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, उपमहासचिव तथा प्रतिष्ठानका महासचिव दिलकुमार लावती, केन्द्रीय सदस्य किरण लिङ्देन, लिचन थेवे लगायत नेताहरुले बोलेका थिए । समाधीस्थलमा बौद्ध धार्मिक परम्परा अनुसार लामा पढाई शहीद प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

त्यसैगरी आज संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मातहतका प्रान्तीय मञ्चहरु, जिल्ला कार्य समिति, जनवर्गीय संगठन लगायतका समितिहरुर्ले शहीद मनिल तामाङको स्मृति दिवस विभिन्न ठाउँमा मनाएका छन् ।

सम्बन्धित खबर