२०८१ मंसिर ७, शुक्रवार , ०७:४२:४९ बजे

Sajhamanch
'

कोभिड १९ बाट बच्न बाह्रदशीमा ‘क्वीक रेस्पोन्स टिम’

बिहिवार, चैत ६, २०७६

बाह्रदशी । विश्वभर फैलिएको नोवल कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै बाह्रदशी गाउँपालिकाले वडा नम्वर ७ स्थित डाँगीबारी स्वास्थ्य चौकीको पुरानो भवन र वडा नम्वर ५ को खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको भवनमा दुईवटा आइसोलेसन कक्ष तयार गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गाउँपालिकाका दुई स्थानमा आइसोलेशन कक्ष र वडा नम्वर १ को खयरबारीमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो ।

सोही निर्णय बमोजिम बाह्रदशी गाउँपालिकामा कोरोना भाइसरको प्रकोप नियन्त्रणका लागि आइसोलेटेड बेड र हेल्प डेस्क स्थापना गर्न लागिएको गाउँपालिकाका योजना शाखा प्रमुख तेजप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

भारतबाट नेपाल प्रवेश गरेका मानिसलाई गाउँपालिकाको वडा नम्वर १ स्थित खयरबारीमा परीक्षण गरिने र शरीरको तापक्रम १००डिग्रीभन्दा माथि भएको खण्डमा आइसोलेटेड कक्षमा पठाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोग नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाहा गर्न स्थानीय समन्वय समितिसमेत गठन गरेको छ । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा समिति गठन भएको हो । समितिको उापध्यक्षमा गाउँपालिकाका उपाध्यक्ष रत्नाकुमारी राजवंशी र सदस्यहरुमा सातै वडाका वडाध्यक्षहरुसहित रहेको जनाइएको छ ।

बैठकले गाउँपालिका अध्यक्ष राजवंशी कै अत्याक्षतामा ‘क्वीक रेस्पोन्स टिम’समेत गठन गरेको छ । गठित समितिको सदस्यहरुमा बाह्रदशी गाउँपालिका १ का अध्यक्ष शम्भूसिंह राजवंशी, ३ का अध्यक्ष विरेन्द्रप्रसाद राजवंशी, ४ का समिम मिया र ७ का मित्रराज भट्टराई रहनुभएको छ ।

गाउँपालिकाले सार्वजनिक स्थानमा धेरैजना एकैपटक भेला नहुन र वडा कार्यालय, प्रहरी चौकी, स्वास्थ्य संस्था लगायतका सार्वजनिक ठाउँमा पस्दा साबुन पानीले हात धोएर मात्र प्रवेश गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर