२०८१ कार्तिक २, शुक्रवार , ०७:५१:०२ बजे

Sajhamanch
'

चन्द्रगढीको विपी चोकमा स्थानीयबाट फेरि बाटो बन्द

बिहिवार, चैत ६, २०७६

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडक चन्द्रगढी खण्डको वीपी चौकमा आज बिहानबाट स्थानीयले सडक अवरोध गरेपछि आवत जावतमा यात्रुले समस्या भोग्नु परेको छ ।

सडक निर्माण ठेकेदारले काममा ढिलासुस्ती गरेको, भएको काम पनि गुणस्तरहीन रहेको, सडकमा परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढाएको, सडक निर्माण कम्पनीले सडक लथालिङ्ग बनाएर बेवास्ता गर्दा जनस्वास्थ्यमा नकारात्मक असर परेको जस्ता आरोप लगाएर स्थानीयले बिहानैदेखि सडक अवरोध गरेका हुन् ।

सो क्षेत्रमा पटकपटक स्थानीयले सडक निर्माण तीब्र पार्न दबाव दिँदै आए पनि निर्माण ठेकेदारले बेवास्ता गरेपछि बाध्य भएर सडक बन्द गर्नुपरेको संघर्षमा उत्रिएका स्थानीयको भनाई छ । उनीहरूका अनुसार भइरहेको सडक निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न नसकेकोले समस्या बढिरहेको हो ।

सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले गरेको कामको गुणस्तर अनुगमन गर्ने जिम्मेवारी पाएको हुलाकी सडक परियोजनाका प्राविधिक निर्माण स्थलमा नबस्दा गुणस्तरमाथि प्रश्न उठेको उनीहरुको दावी छ । सडक निर्माणमा निर्माण ठेकेदारले गुणस्तरहिन ईंटा प्रयोग गरिरहेको पाइएको छ । नाली निर्माणका क्रममा अधिकांश स्थलमा निर्माण व्यवसायीले सम्झौता विपरित निर्माण सामग्री प्रयोग गरिरहे पनि सरकारी पक्ष रमिते मात्र हुँदा निर्माण व्यवसायीको मनोमानी चलिरहेको जनाइएको छ ।

सडक निर्माण गुणस्तर बारे स्थानीय राजनीतिक दल, सामाजिक अगुवा लगायत सरकारी निकाय मौन देखिएपछि स्थानीय नै जुर्मुराएर सडक अवरोधको माध्यम बनाएका हुन् । निर्माण पक्षले नाली बनाउने, कल्वर्ट बनाउने, बेस ग्राभेल भर्ने, ग्राभेलिङ गर्ने, आधार पिच तयार गर्ने र पिच निर्माण गर्ने गरी विभिन्न टुक्रामा काम गरिरहे पनि परियोजनाका प्राविधिक निर्माणस्थलमा कममात्रामा जाने गरेको उपभोक्ताको भनाई छ ।

गुणस्तरमाथि निगरानी नहुँदा निर्माण पक्षधरका मजदुरकै तजविजमा काम भैरहेको देखिनेगरेको छ । दुई खण्ड गरेर काम भइरहेको सडक निर्माण कम्पनीले निर्माण गरिरहेका नाली तथा कल्भर्टका काम गुणस्तरहिन भएको, ग्राभेलिङको काम पनि नियमविपरित रहेको, आधार कालोपत्रेको कामसमेत गुणस्तरीय नभएको स्थानीयले बताएका छन् ।

निर्माण गुणस्तर तथा नियन्त्रण गर्ने हुलाकी सडक परियोजनाका इञ्जिनियरले कामको गुणस्तरियता र ढिलासुस्ती रोक्न सकिरहेको छैन । याक्थुम्बा निर्माण सेवाले ठेक्का लिएको सो सडक खण्डमा ४ वर्षे अवधिमा निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ ।

यसैबीच झापा प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त टोलीले सडक अवरोध खुलाउन पहल गरे पनि स्थानीयले निर्माण ठेकेदार र हुलाकी सडक परियोजनाका जिम्मेवार व्यक्तिले माग सम्बोधन गर्न प्रतिवद्धता नजनाएसम्म अवरोध नखेल्ने अडान राखेपछि सडक बन्द खुलेको छैन । पहिले पनि विभिन्न माग राखेर स्थानीयले सोही ठाउँमा बाटो बन्द गरेका थिए ।

सम्बन्धित खबर