२०८१ पौष १४, आइतवार , ११:०५:१३ बजे

Sajhamanch
'

लखनपुर खानेपानी : फेसबुकमा टिप्पणी गरेको आरोपमा उपभोक्ताको धारा काटियो

बुधवार, चैत ५, २०७६

कमल । खानेपानी उपभोक्ता समितिले बेचेको पानी गुणस्तरहीन रहेको भनी सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा कमल गाँउपालिकाका एक उपभोक्ताको धारा काटिएको छ । लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले कमल ६ का तुलसी तिम्सिनाको धारा लाइन काटिदिएको हो ।

चार दिन अघि कमल गाउँपालिका वडा नं. ५ का दिनेश अधिकारीले उपभोक्ता समितिले पानी वितरणमा लापरवाही गरेको उल्लेख गर्दै आफनो फेसबुकमा भिडीयोसहित पोष्ट गरेका थिए । सोही पोष्टमा तुलसीका छोरा केशव तिम्सिनाले थप असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका थिए ।

अन्ततः त्यही प्रतिक्रियालाई अपराध करार गर्दै खानेपानी उपभोक्ता समितिको कार्यालयले तिम्सिनाको धारा काटिदिएको पीडितको भनाई छ । फेसबुकमा राखेको टिप्पणीले खानेपानीका अध्यक्ष उषा भण्डारीले आफूलाई व्यक्तिगत आक्षेप लगाएको भन्ने गुनासो गरेपछि केशवले आफ्नो टिप्पणी हटाएको दावी गरेका छन् ।

खानेपानी कार्यालयले भने केशवले फेसबुकमा गरेको टिप्पणीको कारणले नभई तीन महिना अघिदेखि पानीको महशुल नबुझाएकाले नियमानुसार धारा काटिएको दावी गरेको छ । समितिका अध्यक्ष उषा भण्डारीले संस्थाको बक्यौता असुल गर्न नियमानुसार धारा काटिएको जिकिर गरेकी छन् । अव नियमानुसार धारा पुनः जडान गर्न समय लाग्ने अध्यक्ष भण्डारीको भनाई छ । ग्राहक नम्बर २९८ तिम्सिनाको धारा काटिँदा करिब एक हजार महशुल बक्यौता रहेको संस्थाले जनाएको छ ।

संस्थाको पानी उपभोग गर्ने सोभन्दा ठूलो रकम र लामो समयदेखि महशुल भुक्तानी नगर्नेहरुलाई उन्मुक्ति दिँदै फेसबुक कमेन्टकै आरोपमा धारा काटिएको परिवारको भनाई छ । संस्थामा २५–३० जना उपभोक्ताको धारा नियमानुसार काटिने प्रक्रियामा रहेको अध्यक्ष भण्डारीले बताएकी छन् । भण्डारीले उपभोक्ताको धारामा पानी बन्द गर्नुभन्दा पहिले उपभोक्तालाई जानकारी दिइराख्नु नपर्ने जिकिर पनि गरेकी छन् ।

तिम्सिनाले तिर्नु बुझाउनु पर्नेभन्दा बढी बक्यौता भएका थुप्रै धाराहरु काट्न नसकेको उपभोक्ता समितिले सामाजिक सञ्जालमा आलोचना भएकै कारण दलबलसहित घरमा आएर धम्की दिँदै धारा काटेको परिवारको गुनासो छ ।

पानीको बक्यौता कै कारण धारा काटिए पनि ग्राहकले जरिवानासहित बक्यौता बुझाएपछि पुनः जडान गर्नुपर्नेमा समितिले तिम्सिनाको विषयमा अटेर गरिआएको पाइएको छ । तिम्सिनाले धारा काट्नु अघि नै बक्यौता महशुल बुझाउन जाँदासमेत पैसा बुझ्न अस्वीकार गरेको आरोप लगाएका छन् । धारा काट्न खोजेपछि हतार हतार पैसा बुझाउन गएका थियौं तर पैसा बुझ्न कार्यालयका कर्मचारीले नमानेको केशवको भनाई छ ।

‘पैसा बुझाउन पहिला म गएँ, उपभोक्ता स्वयम् आउनुपर्ने भनेपछि बुवालाई पठाएँ । तर तपाईंको छोराले खानेपानीका विरुद्ध नराम्रो टिप्पणी गरेको छ भन्दै रकम वुझ्न मानेनछन्’ केशवले वताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अभिव्यक्त विषयलाई लिएर धारा काटिनु राम्रो नभएको शिक्षकसमेत रहेका केशवको गुनासो छ । उनले कमेन्ट गरेको भोलिपल्ट बिहान धारा काटिएको थियो । ‘बिहान एक्कासी यसरी धारा काट्न दुईजना कर्मचारी आएर धारा काटिदिए’ केशवले खानेपानीको बक्यौताभन्दा आफूले गरेको टिप्पणीका कारण यसरी धारा काटिदिएको सुनाए ।

तिम्सिनाले १२ वर्ष अघि धारा जडान गरेका थिए । पहिला पहिला पनि दुई, तीन महिना लामो अवधिसम्म पानी महशुल बाँकी हुन्थ्यो तर धारा नकाटिएको उनले बताए । पुुरानो रिसइवीको कारण समितिको निर्णय नै बिना नै एकल आदेशको भरमा अध्यक्ष भण्डारीले धारा काट्न लगाएको उनको भनाई छ ।

यसैवीच धारा काटिएपछि घरसँगै रहेको विद्यालयका विद्यार्थीहरुले समेत स्वच्छ पानी पिउनवाट बञ्चित भएका छन् । त्यस्तै, तिम्सिना परिवारले पूरानो कल मर्मत गरी पानी पिउन बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

 

लेदोपानीको सास्ती

एकदशक अघि जडान गरिएको पाइपका कारण साविक लखनपुर १ हाल कमल गाउँपालिका वडा नं. ५ मा वितरित खानेपानीमा समस्या देखिएको छ । धारामा आउने फोहोरजस्तो देखिने पानीका कारण उपभोक्ताहरुले सास्ती भोग्दैआएका हुन् । केहीदिन यता पानीमा यस्तै लेदो जस्तो पानी आएपछि उपभोक्ताहरु आजित हुँदै आएका छन् ।

कार्यालयमा भन्यो सुन्दैनन्, आजित भएर सामाजिक सञ्जालमा पोष्ट गर्न वाध्य भएको स्थानीय दिनेश अधिकारीले बताए । उपभोक्ताले पैसा तिरेपछि पानी शुद्धतामा खानेपानी समिति गम्भीर बन्नुपर्नेमा समितिमा जवाफदेहिता नदेखिएको उनको आरोप छ ।

उनका अनुसार पटकपटक धारामा यसरी नै समस्या आएपनि संस्थाले सार्वजनिक रुपमा त्यसबारे उपभोक्तालाई सूचित गरेको छैन । खानेपानीको आफ्नै फेसवुक पेजमा समेत पानीको समस्याका बारेमा उल्लेख गरेका छैनन् । अधिकारी भन्छन्, ‘खानेपानी जस्तो संवेदनशील विषयमा संस्थाका समिति जवाफदेही देखिन्न ।’

समितिका अध्यक्ष भण्डारीका अनुसार पुरानो पाइपबाट बेलाबेला पानीमा त्यस्तो समस्या आउँदै गरेको छ । आयोजनाबाट वितरण भएको खानेपानी धमिलो भएकोप्रति सामाजिक संजालहरूमा प्रतिक्रिया नगर्न समितिले आग्रह गरेको छ ।

पुरानोपाइप लाइनहरूका कारण यस्ता खाले समस्या बेलाबेलामा झेलिरहनु पर्ने भएकाले त्यसलाई जतिछिटो समाधान गर्न समिति क्रियाशिल रहेको अध्यक्ष भण्डारीको भनाई छ । स्थानीय उपभोक्ताको सहभागितामा पाइपलाइन खन्ने–पुर्ने लगायतका कार्य सम्पादन गर्न जिम्मेबारीसमेत प्रदान गरिसकिएकोले धमिलो पानी आउने समस्या अब छिट्टै समाधान हुने उनले जानकारी दिइन् ।

सम्बन्धित खबर