भद्रपुर । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण १६४ देशमा महामारीको रूपमा फैलिसकेको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नफैलिए पनि यसको रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकार लागि परेका छन् ।
कोरोनाबाट झापाबासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापामा कार्यालय प्रमुखहरूको बैठकमा कोभिड–१९ विरुद्ध सचेतना अपनाउँदै जिल्लाका १५ वटै स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइनको तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिएका छन् ।
सो निर्देशन बमोजिम कोरोना सङ्क्रमितको शङ्का लागेकालाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न भद्रपुरमा क्वारेन्टाइन बनाउने गृहकार्य सुरु भएको छ । भद्रपुुर नगरपालिकाले वडा नं. १० स्थित कलवलगुढी प्रशिक्षण केन्द्र परिसरभित्र क्वारेन्टाइन बनाउने भएको हो ।
मङ्गलबार नगरप्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, रेडक्रस, कर्मचारीसहितको टोलीले कलवलगुढी प्रशिक्षण केन्द्रको स्थलगत अनुगमन गरिसकेको छ ।
प्रशिक्षण केन्द्रमा २५ बेड क्षमता भएको क्वारेन्टाइन निर्माणका लागि भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीसहितको समिति गठन गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । बुधबारदेखि क्वारेन्टाइन निर्माणको काम सुरु हुने जनाइएको छ ।
टाइम्स अफ प्रदेशबाट