२०८१ मंसिर २७, बिहिवार , ०१:३२:३० बजे

Sajhamanch
'

सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि कनकाईलाई

शुक्रवार, फागुन ३०, २०७६

अर्जुनधारा । कनकाई नगर खेलकुद विकास समिति झापाले सुखानी शहीद स्मृति गोल्डकप २०७६ को उपाधि जितेको छ ।

साविक विजेता कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङलाई शुक्रबार भएको फाइनल खेलमा २–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि रक्षा गरेको हो । अर्जुनधारा ९ खरबन्दीस्थित नमूना खेलमैदानमा आयोजित प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाईले पहिलोपल्ट जितेको हो ।

कनकाईको जितका लागि खेलको २८औं मिनेटमा लक्ष्मी श्रेष्ठ र ५९औँ मिनेटमा सरिता शेर्पाले गोल गरेका थिए । खेलको ६९औं मिनेटमा कर्णसिंह सोनाम फुटबल क्लबका पवित्रा लिम्बूले गोल गरे पनि हार भने टार्न सकिनन् ।

प्रतियोगिताको विजेता कनकाईले नगद १ लाख २५ हजार पाएको छ भने उपविजेता ताप्लेजुङले ७५ हजारसहित शिल्डमा चित्त बुझायो । त्यसैगरी प्रतियोगिताको व्ुमन अफ द टुर्नामेन्ट कनकाईकी कुसुम खतिवडाले १२ हजार, फाइनल खेलको वुमन अफ द म्याच कनकाईकी नेहा चौधरीले पाँच हजार र बेस्ट कोच कनकाईका सन्त रायमाझीले पाँच हजार प्राप्त गरे ।

त्यस्तै बेस्ट फरवार्ड कनकाईकी लक्ष्मी श्रेष्ठ, बेस्ट मिडफिल्डर ताप्लेजुङकी सुनकला राई, बेस्ट डिफेन्स कनकाईकी सुस्मिता चौधरी र बेस्ट गोल किपर कनकाईकी जशोदा लावतीलाई जनही सात हजार रुपैयाँ प्रदान गर्दा प्रतियोगिताको फेयर प्ले पारिजात महिला फुटबल क्लब झापालाई नगद १० हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश सांसद्हरु अर्जुन राई, वृख प्रधान र हिरा थापा, वडाध्यक्ष बलदेवसिंह गोम्देन, आयोजक सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष टंक भट्टराईलगायतले नगद तथा पुरस्कारहरु प्रदान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत प्रदेश सांसद् एवम् प्रतिष्ठानका सदस्य वृख प्रधानले र कार्यक्रमको सञ्चालन महासचिव हर्कराज राईले गरेका थिए ।

शुक्रवार, फागुन ३०, २०७६ | खेलकुद, प्रदेश

सम्बन्धित खबर