२०८१ मंसिर १४, शुक्रवार , १०:४८:४४ बजे

Sajhamanch
'

मिरुनालाई ‘जारी’ को आश

बिहिवार, फागुन २९, २०७६

संख्यात्मक हिसाबले अभिनेत्री मिरुना मगरले ‘लालपूर्जा’, ‘रोज’, ‘साइनो’ र ‘च च हुईं’ गरि चार फिल्ममा अभिनय गरिसकेकी छन् । भर्सटायल अभिनेताको रुपमा चिनिने सौगात मल्ल र विपिन कार्कीसँगको फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले अहिलेसम्म हिटको सुख भने प्राप्त गर्न सकेकी छैनन् । उनले अभिनय गरेका सबै फिल्मले हलमा घुँडा टेकेका छन् ।

‘रोज’ असफल भए पनि यो फिल्मले मिरुनाको परिचयको दायरा भने फराकिलो बनाएको थियो । फिल्ममा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग उनको जोडी बाँधिएको थियो । जसकारण उनी युवापुस्ताको ठूलो जमातमा चिनिइन् । र, फिल्मको ‘फूल हैन’ गीत हिट हुँदा पनि उनलाई चिन्ने दर्शक बढे । उनी स्वयं यो फिल्मलाई आफ्नो करिअरको टर्निङ पोइन्ट मान्छिन् ।

एउटा कलाकारका लागि करिअरलाई नयाँ उचाइ दिन फिल्मको व्यावसायिक सफलता अत्यन्त महत्त्वपूर्ण हुन्छ । अभिनेत्री मिरुना मगरको भने एकपछि अर्को फिल्मको व्यापारिक असफलताले करिअर नै संकटमा पारेको छ । हरेक फिल्ममा अभिनयको प्रशंसा हुने गरेको भए पनि अहिलेसम्म आफ्नो खातामा एउटा हिट फिल्म नथपिँदा उनको करिअरले गति समात्न सकेको छैन ।

अब उनलाई फिल्म ‘जारी’ को आश छ । उपेन्द्र सुब्बाको डेब्यू निर्देशन रहेको फिल्ममा मिरुनाको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । आउँदो जेठ २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म जारी प्रथा ९महिलाले श्रीमानसँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुटिन पाउने प्रथा० मा आधारित छ । बुझिए अनुसार, फिल्मको मूल कथा मिरुनाकै वरिपरि घुमेको छ ।

‘कबड्डी’ सिरिजका लेखक उपेन्द्र सुब्बाको निर्देशन र गहन विषयमा निर्माण भएका कारण फिल्मप्रति अपेक्षा उच्च छ । अभिनेत्री मिरुना पनि पाँचौं फिल्मबाट हिटको सुख प्राप्त हुनेमा आशावादी छिन् । उनको आशा खुसीमा परिणत हुनेछ वा फेरि निराशामा रु त्यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ । ‘जारी’ ले उनको फिल्मी करिअरको भविष्य निर्धारण गर्छ भन्नेमा चाहिँ दुईमत छैन ।

सम्बन्धित खबर