शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका कृषकलाई कृषि उपकरण वितरण गरेको छ । मंगलबार नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगरका ११ वटै वडाका कृषि समूह र किसानका लागि कृषि अनुदानमा उपकरण प्रदान गरेको हो ।
नगरप्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकमुारी नेपाल र उपसचिव तथा शिक्षा शाखा प्रमुख सुरन्द्र दाहालले उक्त कृषि सामाग्री प्रदान गरेका थिए ।
शिवसताक्षी नगरपालिका र कृषि समूह र किसानको ३५ लाख ५१ हजार १७५ रुपैयाँको लागतमा कृषि उपकरण वितरण गरिएको शिवसताक्षी नगरपालिका कृषि शाखाले जनाएको छ ।
नगरले ५० प्रतिशत अनुदानमा नगरका ३७ कृषक समूहले औषधि छर्कने स्प्रे प्रदान गरेको हो । यस्तै २२ जना किसानलाई मकै छोडाउने मेसिन, २७ किसानलाई मकै रोप्ने मेसिन प्रदान गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरले कृषि समूहका लागि सतप्रतिशत अनुदानमा २३ वटा कृषक समूहलाई साना सिँचाइ मोटर प्रदान गरेको छ ।
यस्तै २२ कृषि समूहका लागि नगरले ७५ प्रतिशत अनुदानमा धान काट्ने रिपर प्रदान गरेको छ । त्यसैगरी पावरटेलर ५० प्रतिशत अनुदानमा २२ किसान समूहले पाएका छन् ।
शिवसताक्षी नगरपालिकाले कृषिमा आत्म निर्भर बनाउन कृषि समूह र कृषकलाई कृषि उपकरण वितरण गरेको बताए । उनले व्यवसायिक रुपमा कृषि समूह बनाई कृषि पेशामा लागेका र व्यक्तिगत फर्म सञ्चालक गर्दै आएको युवाहरुलाई राहत पुग्ने गरी कृषि सामाग्री वितरणण गरिएको जानकारी दिए । नगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको भनाई थियो ।
नगरको कृषि विकास समितिका अध्यक्ष बालजित राईको अध्यक्षतामा भएको थियो भने प्रशासन शाखाका अधिकृत विमल बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।