२०८३ वैशाख १७ बिहिवार , १०:५७:४४ बजे

Sajhamanch
'

कुरुजेत नेपालद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिहिवार, वैशाख १७, २०८३

अर्जुनधारा । कुरुजेत नेपाल काठमाडौंले अर्जुनधारा नगरपालिका–६ स्थित श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरेको छ।

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार आदिवासी समुदायका बालबालिकाहरूलाई लक्षित गर्दै वितरण गरिएको उक्त सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा सहजता थप्ने विश्वास गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका कोषाध्यक्ष सुवास गुरुङले शिक्षा क्षेत्रको विकासमा सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताए। कार्यक्रममा संस्थाका कर्मचारी राम प्यारी बुढा, रञ्जिता तामाङ लगायत अभिभावकहरूको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक डम्मर यादवले सहयोगप्रति खुसी व्यक्त गर्दै विद्यालयमा हालसम्म पर्याप्त भौतिक पूर्वाधार नभएकाले नयाँ भवन अत्यावश्यक रहेको बताए। उनले यस्ता सहयोगले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूलाई विशेष राहत पुग्ने र पढाइप्रति अझै प्रेरित गर्ने विश्वास व्यक्त गरे।

उक्त विद्यालयमा गरिब तथा जेहेन्दार आदिवासी समुदायका बालबालिकाहरू अध्ययन गर्दै आएका छन्। सीमित स्रोत–साधनका बीच सञ्चालन हुँदै आएको विद्यालयले विभिन्न चुनौतीका बाबजुद शिक्षाको गुणस्तर सुधारका लागि प्रयास जारी राखेको छ।

कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक डम्मर यादवले गरेका थिए भने सञ्चालन शिक्षक मदन कुमार निरौलाले गरेका थिए। कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता सहयोगले आफ्ना बालबालिकाको पढाइमा सकारात्मक प्रभाव पार्ने प्रतिक्रिया दिएका थिए।