
अर्जुनधारा । इन्डो–नेपाल यू–१३ च्याम्पियन्स कप अन्तर्गत आज आइतबार सम्पन्न खेलमा सरस्वती क्रिकेट एकेडेमीले मिलन क्रिकेट एकेडेमीलाई ३२ रन ले पराजित गर्दै महत्वपूर्ण जीत दर्ता गरेको छ।
यस्तै आजै सम्पन्न समूह ए को खेलमा हिमावि क्रिकेट एकेडेमीले आस्था क्रिकेट एकेडेमीलाई ६४ रनले पराजित गर्दै प्रभावशाली जीत दर्ता गरेको छ।
अर्जुनधारामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको सरस्वती क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रनको विशाल योगफल तयार पारेको थियो। टोलीका लागि समीर बुढाथोकीले ४२ बलमा ५७ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे भने निजाल राईले ३८ बलमा ४९ रन जोडे। कुश शाहले १४ बलमा १८ रनको योगदान दिए।
मिलन क्रिकेट एकेडेमीका लागि निरज भट्टराईले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। सार्थक पराजुली र शुभम सरदनले पनि १–१ विकेट हात पारे।
१९८ रनको लक्ष्य पछ्याएको मिलन क्रिकेट एकेडेमी वर्षाका कारण खेल प्रभावित भएपछि १२ ओभरमा १ विकेट गुमाउँदै ७० रनको अवस्थामा रोकियो। टोलीका लागि दीक्षित पौडेलले ३१ बलमा अविजित २३ रन बनाए भने निरज भट्टराईले ३५ बलमा अविजित २१ रन जोडे। सुसान्त घिमिरे ६ बलमा १ रन बनाएर आउट भए।
सरस्वती क्रिकेट एकेडेमीका बलरहरूमा अञ्जिल आचार्यले ३ ओभरमा १६ रन दिएर १ विकेट लिए भने कुश साह र स्पर्श गुरागाईंले कसिलो बलिङ गर्दै क्रमशः १३ र १५ रन खर्चिए।
खेलमा उत्कृष्ट ब्याटिङ गरेका समीर बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए। यो जितसँगै सरस्वती क्रिकेट एकेडेमीले प्रतियोगितामा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ।
यसैगरी यस अघिको खेलमा इन्डो–नेपाल यू–१३ च्याम्पियन्स कप अन्तर्गत आइतबार सम्पन्न समूह ए को खेलमा हिमावि क्रिकेट एकेडेमीले आस्था क्रिकेट एकेडेमीलाई ६४ रनले पराजित गर्दै प्रभावशाली जीत दर्ता गरेको छ।
अर्जुनधारामा सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको हिमावि क्रिकेट एकेडेमीले १९ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। टोलीका लागि प्रिन्स गुरागाईंले ३२ रनको योगदान दिए भने प्रज्वल दुलाल र नयन लिम्बूले समान १३–१३ रन जोडे।

आस्था क्रिकेट एकेडेमीका लागि बलिङतर्फ लोमस तिम्सिनाले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। रुबिन भण्डारीले १ तथा चाबिलाल घिमिरेले १ विकेट लिए।
११९ रनको लक्ष्य पछ्याएको आस्था क्रिकेट एकेडेमी ९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमा समेटियो। टोलीका लागि लोमस तिम्सिनाले २५ रन बनाए भने युनिक गौतमले २१ र रुबिन भण्डारीले १४ रनको योगदान दिए।
हिमाविका बलरहरूले कसिलो प्रदर्शन गर्दै आस्थालाई दबाबमा राखेका थिए। कश्यप खनालले ३ विकेट लिए भने प्रिन्स गुरागाईं र सोहन खतिवडाले समान २–२ विकेट हात पारे।
अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेका कश्यप खनाल ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले ७८ रन बनाउनुका साथै ३ विकेट लिएका थिए।
यो जितसँगै हिमावि क्रिकेट एकेडेमीले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ।


